म्याद गुज्रिएका औषधि भेटिएपछि दुईवटा फार्मेसी बन्द

म्याद गुज्रिएका औषधि भेटिएपछि दुईवटा फार्मेसी बन्द

काठमाडौँ, ३ माघ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल बाहिर सञ्चालित दुईवटा औषधि पसल बन्द गर्न निर्देशन दिनुभएको छ । स्वास्थ्य मन्त्रालय तथा औषधि विभागको संयोजत्वमा आज गरिएको निरीक्षणका क्रममा सत्यम फर्मा र उपकार सेवा फर्माले म्याद गुज्रिएका र दर्ता नभएका औषधि बिक्री वितरण गरेको भेटिएपछि मन्त्री बस्नेतले बन्द गर्न निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, “वीर अस्पताल बाहिर रहेको फार्मेसीले म्याद गुज्रिएका औषधि बेचेको भेट्यौँ । त्यस्तै औषधि महँगोमा बेचेको पाइयो । औषधिलाई राम्रोसँग स्टोर गर्नुपर्नेमा बाहिरै त्रिपालले छोपेर राखेको पाइएपछि यी फार्मेसी पसललाई बन्द गर्ने निर्णय गरी कानुनी कारबाहीका लागि अगाडि बढ्नेछौँ ।

” मन्त्री बस्नेतले वीर अस्पतालको स्टोरमा औषधि लुकाएर बिरामीलाई बाहिरको फार्मेसीमा किन्न लगाउने गरेको पाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालको स्टोरमा औषधि राख्ने तर फार्मेसीमा औषधि छैन भनेर बिरामीलाई बाहिरबाट औषधि किन्न लागाउने गरेको भेटिएको छ । यो झन् ठूलो समस्या देखिएको छ ।” मन्त्री बस्नेतले अस्पतालको पार्किङ क्षेत्रमा रहेको ठाउँमा टहरो बनाएर फार्मेसी सञ्चालन गर्नेबारे अस्पतालको व्यवस्थापनसँग छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “शल्यक्रियाका लागि आवश्यक औषधि र महँगा औषधि अस्पतालको फर्मेसीमै पाउने व्यवस्था गर्नका लागि पार्किङमा फार्मेसी निर्माण गर्न छलफल भइरहेको छ ।” औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले निरीक्षणका क्रममा ‘फ्रिज’मा राख्नुपर्ने औषधिलाई बाहिर खुला राखिएको भेटिएको बताउनुभयो । स्वास्थ्य विभागले नियमन गरिआएका औषधि प्रशस्त मात्रामा भेटिएको समेत महानिर्देशक ढकालले जानकारी दिनुभयो । ---(रासस)