खोले साग बिक्रीबाट तीनमहिनामा तीन लाख आम्दानी

खोले साग बिक्रीबाट तीनमहिनामा तीन लाख आम्दानी

मध्यविन्दु (नवलपरासी), ६ फागुन : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ का लक्ष्मी महतोको दम्पतीले पालुङ्गे (खोले) सागखेती गरेर मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । विगत दुई वर्षदेखि व्यावसायिकरूपमा पालुङ्गे सागखेती गर्दै आउनुभएको महतो दम्पतीले वार्षिक रु तीन लाख भन्दा बढी आम्दानी गर्नुभएको छ । सात कट्ठा क्षेत्रफलमा लगाइएको पालुङ्गे सागले मङ्सिरदेखि चैतसम्म राम्रो आम्दानी दिने किसान लक्ष्मीले बताउनुभयो । केही वर्षअघिसम्म चैतेधान लगाउने गरेकामा विगत दुई वर्षदेखि पालुङ्गे साग लगाउन थालेको उहाँले बताउनुभयो ।

“चैतेधानभन्दा यो साग लगाएपछि फाइदा भयो, यसमा सामान्य जैविक मल प्रयोग गर्छौँ अरू केही गर्नु पर्दैन”, उहाँले भन्नुभयो, “ चैतेधानभन्दा यो सागखेतीले जीविकोपार्जनमा राहत पुर्याएको छ ।” महतो दम्पतीले साग बिक्री गरेर यामअनुसार तीन महिनामा नै रु तीन लाखसम्म आम्दानी गर्न सफल हुनुभएको छ । माघमा मात्र पहिलो लट काटिएको सागबाट रु ८० हजारभन्दा धेरै आम्दानी गरिसकेको लक्ष्मीले बताउनुभयो । मङ्सिरमा लगाएको पालुङ्गे साग चैतसम्म उत्पादन हुने गर्दछ । खोलामा खेर गइरहेको पालुङ्गे सागलाई पहिलोपटक दुई वर्षअघि बिक्रीका लागि बजार लैजाँदा ग्राहकाले मन पराएपछि यसैलाई व्यावसायिक खेती गरेको उहाँले जानकारी दिनुभयो । “यो सागलाई उपभोक्ताले अत्यधिकरूपमा मन पराएर दैनिकरूपमा माग बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “पालुङ्गे सागको माग फागुन–चैतमा अझै धेरे हुने गर्दछ ।

” गर्मी मौसममा अन्य साग उत्पादन कमै हुने भएकाले पनि पालुङ्गे सागको माग अझ बढ्ने गरेको छ । एकपटक काटिसकेपछि पनि निरन्तर उम्रिने भएकाले लगानी र मेहनत कम पर्ने भएकाले किसानले यसबाट राम्रो फाइदा लिन थालेका हुन् । पूर्णरूपमा अग्र्यानिक हुने र जुनसुकै प्रकारका बिरामीले पनि खान मिल्ने भएकाले बजारमा यसको माग बढ्दो रहेको किसान लीला थारूले बताउनुभयो । “यसमा कुनै रासायनिक मल प्रयोग हुँदैन । मल विषादि प्रयोग नगरिने हुँदा यो पूर्णरूपमा अग्र्यानिक हुन्छ । यो साग सङ्लो पानी बग्ने स्थानमा हुन्छ”, उहाँले भन्नुभयो । खेत, खोला र सिमसार क्षेत्रमा पाइने पालुङ्गे साग अहिले ग्राहकले पनि अत्यधिक रुचाउन थालेका छन् । छिपछिपे पानी बग्ने खोलामा यो साग मौलाउने भएकाले यसलार्ई खोलेसाग पनि भन्ने गरिएको किसान थारूले बताउनुभयो । “कतिपय ठाउँमा यसलाई सिमसाग पनि भन्ने गर्दछन्, यही साग बिक्री वितरणले हामीजस्तै धेरैको रोजीरोटी चलाएको छ”, उहाँले भन्नुभयो । पछिल्लो समय जिल्लाको सदरमुकाम कावासोती बजारलगायतका स्थानमा पालुङ्गे सागको राम्रो कारोबार हुने गरेको छ । यस वर्ष स्थानीय किसानले जिल्लाबाहिर बुटवल, नारायणगढलगायतका बजारमा समेत यो सागको राम्रो निर्यात गरेको बताएका छन् । –––(रासस)