लघुवित्त र मिटरब्याजपीडितलाई न्याय दिन सदनमा माग

लघुवित्त र मिटरब्याजपीडितलाई न्याय दिन सदनमा माग

काठमाडौँ, १० फागुन : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले लघुवित्त र मिटरब्याजपीडितहरु पुनःआन्दोलित भएकाले उनीहरूका माग सम्बोधन गरी न्याय दिन आवाज उठाउनुभएको छ । बैठकको विशेष समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् रोशन कार्कीले मिटरब्याजपीडितहरु धेरै दिनको यात्रा गरेर न्यायको खोजीमा काठमाडौँ आएकाले तिनलाई न्याय दिन आग्रह गर्नुभयो । नेकपा (एमाले)का सांसद सुनिता बरालले पीडित नागरिक आफ्ना माग बोकेर सरकारलाई सुनाउन हप्तौँ हिँडेर काठमाडौँ आउनु दुःखको कुरा भएको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद नारायणी शर्माले गुठी, वन, विद्यालयलगायत विभिन्न खालका जमिनमा जनताले भोगचलन गर्दै आएकाले उनीहरूले आफ्नो जग्गाको जग्गाधनीपुर्जा लिन नपाएको बताउनुभयो । उहाँले सङ्क्रमणकालीन न्यायका विषयलाई पनि छिटो टुङ्गो लगाउन माग गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा तोसिमा कार्कीले बिरामीले कुन अस्पतालमा राम्रो उपचार पाउँछ भनेर तड्पिनुपर्ने र पाँच गुणासम्म बढी महँगो

शुल्क तिनुपर्ने अवस्था रहेको बताउँदै आम नागरिक अस्पतालमा उपचार र खर्च नपाएर बन्धक भएकाले स्वास्थ्य संस्थालाई वर्गीकृत आधारमा शुल्क निर्धारण गरेर सेवा दिन माग गर्नुभयो । जनता समाजवादी पार्टीका सांसद रेखा यादवले विराट जुटमिलमा आगलागी हुँदा धेरै क्षति भएको भएकाले उचित क्षतिपूर्ति दिन आग्रह गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरीले भूमिहीन किसानले उपभोग गर्दै आएको जग्गा सरकारी निकाय र मन्दिरका नाममा राखिएकामा चासो व्यक्त गर्नुभयो । जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतले गठबन्धनका बैठकमा विपक्षीलाई कसरी प्रतिरोध गर्नेभन्दा पनि कसरी देश बनाउने भन्ने विषयमा छलफल हुनुपर्नेमा जोड दिनुभयो । नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, आम जनता पार्टीका प्रभु साह, सांसद डा अमरेशकुमार सिंहलगायत उक्त विशेष समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । ---(रासस)