हिमपातसँगैको वर्षाले सोलुखुम्बुका किसान हर्षित
सल्लेरी (सोलुखुम्बु), ११ फागुन : हिमपातसँगै परेको वर्षाले सोलुखुम्बुका किसान खुसी भएका छन् । बिहीबारको हिमपात तथा वर्षादले यहाँका किसान उत्साहित भएका हुन् । लामो समय खडेरीको मार खेपेका जिल्लाका किसान वर्षाद तथा हिमपातपछि गहुँबालीलाई फाइदा भएको तथा अन्य अन्नबाली लगाउने अवसर मिलेकामा हर्षित भएका हुन् । हिउँदे वर्षा नहुँदा जमिन सुक्खा थियो भने डाँडापाखा उराठलाग्दा थिए तर ढिलागरी परेको पानी र हिमपातले केही राहत महसुस भएको सल्लेरीका ल्हाक्पा शेर्पाले बताउनुभयो ।उहाँले भन्नुभयो, “हिउँ नपर्दा गहुँबाली सुकेर गएको थियो, माथिल्लो भेगमा मात्रै होइन तल्लो भेग पनि सुक्खाग्रस्त भएका बेला परेको हिउँ र पानीले बाली फस्टाउनेमा म ढुक्क छु ।” तल्लो भेगमा समेत हिउँदे वर्षा नहुँदा बालीनाली सुकेर जानुका साथै जमिन नै मरुभूमिजस्तो बन्दै गएको पञ्चनका केशवप्रसाद कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो, “हिजोको वर्षाले किसानमा खुसी ल्यायो तर जमिन भिज्नेगरी पानी नै पर्न सकेन, सुक्खापना अझै त्यस्तै छ, अब पानी पर्ने छाँटकाँट देखिन्न, अझै खडेरीको मारबाट किसानले पार पाएका छैनन् ।
” वर्षाले खडेरीले सुकेका बाली फस्टाउने आशा किसानमा देखिएको छ । हिमपातपछि सगरमाथा क्षेत्र पुगेका पर्यटक पनि खुसी भएका छन् । खडेरीले उराठलाग्दा बनेका पर्यटकीय क्षेत्र रसिलो देखिएको लुक्लाकी दाटी शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “बल्ल खुम्बुक्षेत्र खुम्बुजस्तो देखियो, हिउँ पर्दै छ, हामी खुसी छौँ, विदेशीहरू पनि हिउँमा रमाइरहेका छन्, अब अलि सुक्खापना हट्छ कि ? यतिखेर लुक्लाबाट देखिने डाँडा हिउँले भरिएर सेताम्मे भएका छन् । ––– (रासस)