बगरखेतीमा आकर्षित हुँदै किसान

बगरखेतीमा आकर्षित हुँदै किसान

राँझा (बाँके), ३० फागुनः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसान बगरखेतीतर्फ आकर्षित भएका छन् । राप्ती नदीको डुबान र कटानबाट प्रभावित राप्ती सोनारी–५ बिनौना ललहीवासीले सामूहिक बगरखेती गर्दै आएका हुन् । उनीहरू बगरखेती गरेर आर्थिक उपार्जनमा जोडिएका छन् । विगतमा निर्वाहमुखी खेती गर्दै आए पनि अहिले व्यावसायिकरूपमै बगरखेती गर्न आफूहरू लागिपरेको ललही बगरखेती समूहका अध्यक्ष टेकराज थारूले बताउनुभयो । “पहिला थोरै थोरै खेती गर्ने गरेका थियाँै, अहिले सामूहिक र व्यक्तिगतरूपमा बगरखेती गर्न लागिपरेका छौँ”, उहाँले भन्नुभयो, “अहिले तर्बुज, खर्बुज र लहरे तरकारी लौका, घिरौला काँक्रालगायतका तरकारी रोपेका छाँै ।” राप्ती सोनारी–५ बिनौनास्थित ललहीवासीले सामूहिक बगरखेती गर्न थारूको अध्यक्षतामा १६ सदस्यीय ललही बगरखेती समूह गठन गरेका छन् । सामूहिकरूपमा खेती गर्दा सबै कुरामा सहज र रमाइलो हुने गरेको समूहकी सचिव सीता चौधरीले बताउनुभयो ।

समूह गठन भएपछि गाउँका सबैजसो दाजुभाइ तथा दिदीबहिनीले खेर गइरहेको बगरमा खेती गर्नेतर्फ चासो दिन थालेको उहाँको भनाइ छ । समूहका अध्यक्ष थारुले पहिलादेखि नै व्यावसायिकरूपमा बगरमा तर्बुजलगायत तरकारीखेती फलाउँदै आउनुभएको छ । उहाँले गाउँमा उत्पादन भएको तरकारी उचित मूल्यमा गाउँमै खपत हुने गरेको बताउनुभयो । राप्ती सोनारी –१ जरुवा निवासी मानबहादुर रानामगरले पनि बगरखेती गर्दै आउनुभएको छ । नदीले कटान गरेको बगरमा तरकारी फल्न थालेपछि अहिले गाउँका अन्य साथीभाइसमेत बगरखेतीतर्फ आकर्षित भएको उहाँले बताउनुभयो । राप्ती सोनारी गाउँपालिकाले किसानलाई बगरखेतीतर्फ आकर्षित गर्न अनुदान कार्यक्रम ल्याएको छ । बगरखेती गर्ने किसानलाई रु पाँच लाखसम्मको अनुदान दिने कार्यक्रम रहेको गाउँपालिका कृषि शाखा प्रमुख चन्दाकुमारी शाहीले बताउनुभयो । यस वर्ष राप्ती सोनारी–५ बिनौनास्थित ललही बगरखेती समूह र वडा नं १ का बगरखेती किसान मानबहादर रानामगरलाई रु पाँच लाखबराबरको अनुदानको सम्झौता गरिएको उहाँले जानकारी दिनुभयो । बगरखेतीतर्फ किसानलाई आकर्षित गर्न अनुदान कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताउनुभयो । उहाँले बगरखेती किसानले उत्पादन गरेको कृषि उपज बजारीकरण गर्न गाउँपालिकाले आवश्यक पहल गर्ने उल्लेख गर्नुभयो । –––(रासस)