कृषि विकास बैंकद्वारा विद्यार्थीसँग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकद्वारा विद्यार्थीसँग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं, चैत ९
कृषि विकास बैंक विद्यार्थीसँग बैंक कार्यक्रम सञ्चालन गरेको छ । बैंकद्धारा धनुषाको यदुकुहामा विद्यार्थीसँग बैंक कार्यक्रम सञ्चालन गरिएको हो । बैंकको मधेश प्रदेश कार्यालय जनकपुरधामको आयोजनामा शहीदनगर न.पा.–३ स्थित जनता एकता प्राविधिक माध्यमिक विद्यालयमा बुधवार विद्यार्थी सँग बैंक कार्यक्रम सञ्चालन भएको हो ।

ग्लोवल मनी वीक को अवसर पारेर बैंकद्वारा आयोजित कार्यक्रममा विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत व्यवस्थापन संकाय तर्फका विद्यार्थीहरु र सोही विद्यालयका शिक्षकहरुको सहभागितामा उक्त कार्यक्रम आयोजना गरिएको कार्यालयका सूचना अधिकारी जयराम शर्माले जानकारी दिए । बैंकका मधेश प्रदेश निर्देशक तिलक प्रधानको अध्यक्षता रहेको उक्त कार्यक्रमको प्रमुख अतिथीकोरुपमा बैंकका उपमहाप्रबन्धक डा. बाबुकाजी थापा रहेका थिए ।

करिब ९० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रदीप साह, व्यवस्थापन संकायका संयोजक गजेन्द्र यादव, बैंकका कर्मचारीहरु महेश साह, रामसेवक साह, संजीव यादव, स्थानीय अगुवा कृषक कन्हैया प्रसाद मुखिया लगायत विद्यालयका शिक्षकहरुको समेत उपस्थिति रहेको थियो । 


कार्यक्रममा प्रशिक्षण गर्दै उपमहाप्रबन्धक डा.थापाले बालबालिकाहरुले बेलैमा बचत गर्ने बानीको विकास, पुँजिको संकलन, रकमको सदुपयोग जस्ता विषयमा ध्यान दिनुपर्ने बताए । आर्थिक अवस्था सुदृढ गर्न घर मुलि, परिवारको सदस्य सबैको भूमिका हुने भएको हुँदा आम्दानीको बढी अंश उत्पादनमूलक क्षेत्रमा खर्च लगाउनुपर्नेमा जोड दिए । सोही कार्यक्रममा प्रशिक्षण दिदै उपमहाप्रबन्धक डा.थापाले सहभागि विद्यार्थीहरुलाई बैंकिङ्ग प्रणाली, कृषि विकास बैंकमा उपलब्ध डिजिटल प्रोडक्टहरु, पैसा राख्ने तरिका, सफा नोट जस्ता विषयमा जानकारी गराए ।

कार्यक्रमको अन्त्य तिर सञ्चालित अन्तरक्रियात्मक कक्षाका क्रममा सहभागि विद्यार्थीहरुबाट कृषि विकास बैंक तथा डिजिटल प्रोडक्ट सम्बन्धमा व्यक्त भएका विभिन्न जिज्ञासाहरुको विषयमा जवाफ पनि दिए । बचत, बचतको सदुपयोग, पैसाको सुरक्षा, डिजिटल प्रोडक्टका विशेषताहरु विषयमा छोटो समयमा सहज तरिकाले जानकारी पाईएको हुँदा कार्यक्रम निकै उपलब्धिमूलक भएको सहभागि मध्ये कक्षा ११ की छात्रा पूनम यादवले प्रतिक्रया व्यक्त गरे । त्यस्तै यस्ता कार्यक्रम समय समयमा आयोजना भएमा हामी व्यवस्थापन संकायका विद्यार्थीहरुलाई निकै फाइदा हुने भन्दै यदुकुहामा कार्यक्रम आयोजना भएकोमा अर्का विद्यार्थी गंगा यादवले खुशि व्यक्त गरे ।