प्रहरी महानिरीक्षक कुँवरको प्रमुख आतिथ्यमा कमाण्डो तालिमको दिक्षान्त समारोह सम्पन्न

प्रहरी महानिरीक्षक कुँवरको प्रमुख आतिथ्यमा कमाण्डो तालिमको दिक्षान्त समारोह सम्पन्न

नवलपरासी पश्चिम, चैत ९


नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी पश्चिममा संचालित नवौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दिक्षान्त समारोह प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा सोही महाविद्यालयमा शुक्रबार सम्पन्न भएको छ ।
समारोहमा प्रहरी महानिरीक्षक कुँवरले तालिममा सहभागी प्रशिक्षार्थीहरू मध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गगरे । प्रहरी महानिरीक्षक कुँवरले सम्बोधनको क्रममा नेपाल प्रहरीकै अत्यन्त कठिन, मानसिक र शारीरिक दुवै पक्षबाट चुनौतिपूर्ण रहेको यस तालिम सफलता पूर्वक सम्पन्न गर्नुहुने सम्पूर्ण प्रशिक्षार्थीहरूलाई बधाई दिए । नेपाल प्रहरीले सामना गर्नुपर्ने विविध चुनौतिहरू र समस्याहरू मध्ये विशेष तवरको युक्ति तथा कलाको आवश्यकता पर्ने कार्यक्षेत्रको पहिचान गरी आवश्यक पर्ने दक्ष जनशक्ति दिक्षित गर्न यस महाविद्यालयले प्रशिक्षणमा पुर्याकएको उल्लेखनीय योगदानको सराहना उनले गरे ।  


प्रहरी महानिरीक्षक कुँवरले विविध युक्तिकला, हातहतियार र विष्फोटक पदार्थ ह्याण्डलिङ जस्ता पक्षहरूमा मात्र पोख्त नभई विशेष परिस्थितिहरू एवम् शारीरिक तथा मानसिक थकानले प्रस्तुत गर्ने चुनौतिहरूको समेत सामना गर्न योग्य विशेष क्षमताले सुसज्जित यस तालिम प्राप्त गर्ने प्रहरी कर्मचारीहरू विशेष हुने चर्चा गरे । तालिमको अवधिमा प्राप्त गरेका सीप र कौशल प्रहरीको व्यावसायिक जीवनमा मात्रै नभई व्यक्तिगत जीवनका अन्य कैयौँ पक्षमा समेत उपयोगी र लाभदायक हुने उनले उल्लेख गरे ।  
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले धन्यवाद ज्ञापन गरेको उक्त समारोहमा नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक भोला बहादुर रावलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।  


समारोहमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक हरि प्रसाद पौडेलले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ९० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी निरीक्षक ६ जना, प्रहरी सहायक निरीक्षक १८ जना र प्रहरी जवान ९० जना गरी जम्मा १ सय १४ जनाको सहभागिता रहेको जानकारी दिए । उक्त समारोहमा प्रशिक्षार्थीहरुले इमिडियट एक्सन ड्रिल अन्तर्गत फायर एण्ड मुभ अभ्यास, होस्टेज रेस्क्यू अपरेसन डेमोन्स्ट्रेसन, स्याण्ड मोडल बिफ्रिङ, हतियार खोलजोड डेमोन्स्ट्रेसन, बाधापार डेमोन्स्ट्रेसन तथा अनआर्म कम्ब्याट समेत प्रदर्शन गरेका थिए ।


समारोहमा सुनवल नगरपालिकाका प्रमुख, रामग्राम नगरपालिकका प्रमुख, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, स्थानीय जन प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको   थियो ।


करिब दुई सय ७४ किलो गाँजासहित तीन जना पक्राउ 

काठमाडौं, चैत ९ 


बाराको निजगढ नगरपालिका–१३ भक्तलाल टोल बस्ने २१ वर्षीय लाल बहादुर वाईबालाई अवैध लागूऔषध गाँजा करिब २ सय ५० किलो र नगद २ लाख ७ हजार रूपैयाँसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । वाईबाको घरमा गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी पक्राउ गरेको हो । साथै उनको घरबाट ना.३९ प २४५३ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।  


मोरङको बिराटनगर महानगरपालिका–१४ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २४ किलोसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिराटनगर महानगरपालिका–८ बस्ने ४० वर्षीय बिरेन्द्र कुमार राजवंशी र धनकुटा शहिदभुमी गाउँपालिका–२ बस्ने ४५ वर्षीय उत्तम राई रहेका छन् । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले बिराटनगरबाट रानीतर्फ जाँदै गरेको को.२ ह ६५१ नम्बरको अटो टेम्पोलाई जाँच गर्ने क्रममा दुइ ओटा जेब्रा झोलामा रहेको उक्त गाँजा फेला पारी टेम्पो चालक बिरेन्द्र र टेम्पोमा सवार उत्तमलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ


काठमाडौं, चैत ९ 


सुनसरीको ईटहरी उपमहानगरपालिका–१ पिपल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २४० मिलिग्राम र नगद ८ हजार ५ सय रूपैयाँसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–२ बस्ने पवन ढकाल र उनकै भाइ प्रबिन ढकाल रहेका छन् । अस्थायी प्रहरी चौकी हलगडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 


कञ्चनपुरको बेलौरी नगरपालिका–६ बैशाखाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६७ मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लालझाडी गाउँपालिका–३ पर्सिया बस्ने २१ वर्षीय मनोज राना र कैलाली धनगढी उपमहानगरपालिका–७ मनिहरा बस्ने २७ वर्षीय राम औतार राना रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले से.७ प ६३२८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 
कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्रामसहित कञ्चनपुर पुनर्वास नगरपालिका–८ बस्ने २३ वर्षीय सन्दिप खड्कालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । मोरङको सुनवर्षी नगरपालिका–१ र २ को सिमाना गृदलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ८० मिलिग्रामसहित पथरीशनिश्चरे नगरपालिका–१ बिशाल चोक बस्ने ३० वर्षीय युवराज लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी अमरदहबाट खटिएको प्रहरीले अमरदहबाट पथरीतर्फ जाँदै गरेको को.३४ प ३७०५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक लिम्बुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 


झापाको कन्काई नगरपालिका–९ बस्ने २२ वर्षीय पवन चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्रामसहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । 


यसैगरी झापाको मेचिनगर नगरपालिका–६ मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्राम ८ सय मिलिग्रामसहित उदयपुर कटारी नगरपालिका–५ बस्ने २५ वर्षीय खगेन्द्र तामाङलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको   छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 


यसैगरी झापाको दमक नगरपालिका–५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४४ वर्षीय यादव राई र सोही नगरपालिका–८ बस्ने २६ वर्षीय मनोज वोहोरा रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले यादवको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


पेस्तोल र भरूवा बन्दुकसहित दुई जना पक्राउ 

काठमाडौं, चैत ९ 


रूकुम पूर्वको भुमे गाउँपालिका–९ गोठिवाङ बस्ने ३९ वर्षीय नविन मल्ल भन्ने विश्व विक्रम मल्ललाई पेस्तोल १ थान र सोही पेस्तोलको खालि म्याग्जिन १ थानसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चुनवाङबाट खटिएको प्रहरीले उनको घरमा तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो । 


पाल्पाको रैनादेबि छहरा गाउँपालिका–४ ठुलीपोखरीस्थित जंगलबाट भरुवा बन्दुक १ थानसहित सोही नगरपालिका–४ दागिल बस्ने ४६ वर्षीय बद्री भन्ने लिला बहादुर खत्रीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मुझूङबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


स्रोत नखुलेको रकमसहित एक जना पक्राउ


सिरहा, चैत ९  


लहान नगरपालिका–१ गोलचक्करस्थित सडकबाट स्रोत नखुलेको नगद १० लाख १ हजार ६ सय रूपैयाँसहित लक्ष्मिपुर पतारी गाउँपालिका–६ सितापुर बस्ने ३० वर्षीय मुकेश कुमार साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले प्र.०१२–०१–००२ प ३९६९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय ईटहरी पठाइएको छ । 


सवारी दुर्घटनामा दुई जनाको मृत्यु


काठमाडौं, चैत ९


धनुषाको सबैला नगरपालिका–८ ठिल्लास्थित सडकमा ज.९ प १४४९  नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–९ भठियन बस्ने ६० वर्षीया सोनाघारी कापरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । 


महोत्तरीको सम्सी गाउँपालिका–६ चाँदनीस्थित सडकमा साइकल आफै अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा साइकल चालक भारत सितामढी भेडियाही ग्राम पञ्चायत–७ भगवतिपुर बस्ने २० वर्षीय मो.साहिदको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।