अवैध लागूऔषध ब्राउनसुगरसहित चार जना पक्राउ

अवैध लागूऔषध ब्राउनसुगरसहित चार जना पक्राउ

झापा, चैत १६  

झापाका विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले कन्काई नगरपालिका–४ बस्ने २३ वर्षीय सलिम आलम समेत २ जनालाई कन्काई नगरपालिका–३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ७० मिलिग्रामसहित बिहीबार दिउँसो पक्राउ गरेको हो । यसैगरी सोही कार्यालयबाट खटिएको प्रहरीले शिवसताक्षी नगरपालिका–१० बस्ने २८ वर्षीय अजय बस्नेतलाई कन्काई नगरपालिका–५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ८० मिलिग्रामसहित बिहीबार बेलुकी पक्राउ गरेको हो ।

यसैगरी लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका भारत ठाकुरगंज बस्ने ३२ वर्षीय मोहम्मद मुन्नालाई मेचिनगर नगरपालिका–६ मेची पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्रामसहित बिहीबार राति पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।