नेपाल प्रहरीको तालिम क्यालेण्डर तर्जुमा सम्बन्धी तीन दिवसीय गोष्ठी समापन

नेपाल प्रहरीको तालिम क्यालेण्डर तर्जुमा सम्बन्धी तीन दिवसीय गोष्ठी समापन

काठमाडौं, चैत १७ 

आर्थिक वर्ष २०८०-०८१ को वार्षिक तालिम क्यालेण्डरको वार्षिक समीक्षा तथा आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक तालिम क्यालेण्डर तर्जुमा सम्बन्धी तीन दिवसीय गोष्ठी सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच गोष्ठी समापन गरेका हुन ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले गोष्ठीमा भएका छलफल एवम् आवश्यकता पहिचानका आधारमा तयार भएको तालिम क्यालेन्डर अनुरूप संचालित तालिम तथा प्रस्तावित तालिम क्यालेण्डर नेपाल प्रहरीको तालिमलाई सहज, सरल र प्रभावकारी बनाउन मार्ग चित्रको रूपमा रहने विश्वास व्यक्त गरे । प्रशिक्षण प्रदायक ईकाइहरूले अघिल्लो तालिम क्यालेण्डर बमोजिम संचालित तालिमहरूका असल पक्षहरूको निरन्तरता तथा देखिएका समस्या एवम् सुधारका लागि आवश्यक पक्षहरू समेतको समीक्षा गर्दै आगामी दिनहरूमा तालिम संचालन गर्दा दूरदृष्टि पुग्नुपर्ने विषयका सम्बन्धमा गोष्ठी फलदायी रहने अपेक्षा रहेको उनले बताए ।

प्रहरी महानिरीक्षक कुँवरले राज्यद्वारा प्रदत्त जिम्मेवारी प्रभावकारी ढंगबाट निर्वाह गर्नका लागि सक्षम एवम् व्यावसायिक प्रहरी जनशक्ति अपरिहार्य रहेको चर्चा गर्दै सो जनशक्ति उत्पादन गर्न आवश्यकतामा आधारित वैज्ञानिक र समय सापेक्ष प्रशिक्षण प्रणालीको भूमिका अत्यन्त महत्वपूर्ण रहने उल्लेख गरे । प्रशिक्षणमा अन्य निकायहरूको असल अभ्यासहरूको अवलम्वन सँगै सेवा विशिष्टिकरणको आधारमा तालिम पाठ्यक्रमको निर्माण र सोही अनुरूपको तालिम गतिविधि संचालन तथा निरन्तरता आवश्यक पर्नेमा उनले जोड दिए ।

प्रहरी महानिरीक्षक कुँवरले बदलिँदो सामाजिक परिवेश, प्रविधिको द्रूत विकास सँगसँगै देखा परेका साइबर क्राइम, क्रिप्टोकरेन्सी, आर्थिक तथा वित्तिय अपराध, भूमि प्रशासन सम्बन्धी अनुसन्धानका क्षेत्रलाई समेत सम्बोधन हुने तालिमका कार्यक्रम आगामी तालिम क्यालेण्डर निर्माणका क्रममा समावेश हुने विश्वास लिएको बताए । परम्परागत पद्धतिको प्रशिक्षण एवम् पाठ्यक्रमले मात्र दक्ष जनशक्ति निर्माण गर्न नसकिने हुँदा प्रशिक्षणका विविध आयाममा समयानुकूल परिवर्तन र परिमार्जनलाई आत्मसात् गर्दै राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षण विधिहरूको साथसाथै भर्चुअल तालिम तथा अभिमूखिकरण कार्यक्रमहरूको अवलम्बन समेत तालिम क्यालेण्डरको प्राथमिकतामा रहनु पर्ने उनले उल्लेख गरे ।

समारोहमा धन्यवाद ज्ञापन गर्दै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले संगठनलाई आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन तथा विकास गर्ने कार्यमा नेपाल प्रहरीका मुख्य प्रशिक्षण प्रदायक कार्यालयहरूको महत्वपूर्ण भूमिका रहँदै आएको बताए । नेपाल प्रहरीमा संचालन हुने तालिमहरूलाई अझ वैज्ञानिक, व्यवस्थित र उद्देश्य मुलक बनाउने लक्ष्यसहित आयोजना गरिएको गोष्ठीमा प्राप्त महत्वपूर्ण र विश्ले्षणात्मक राय, सुझाव र सल्लाहहरूले तालिम क्यालेण्डर तर्जुमा र संचालन कार्यमा अतुलनीय योगदान पुगेको विचार उनले व्यक्त गरे ।

प्रतिष्ठानका सहनिर्देशक प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर राणाले स्वागत मन्तव्य व्यक्त गरेको उक्त समारोहमा प्रतिष्ठानका प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले गोष्ठीको सार सङ्क्षेप एवम् आगामी वर्षको तालिम योजना सहितको प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा सहभागी वरिष्ठ प्रहरी अधिकृतहरू समेतले सुझाव तथा टिप्पणी गरेका थिए ।

गोष्ठीमा आगामी आर्थिक वर्ष २०८१-०८२ को तालिम क्यालेण्डर निर्माण सम्बन्धमा तालिम आवश्यकता पहिचान, हालसम्म तालिम प्राप्त जनशक्ति र तालिम प्राप्त गर्न बाँकी जनशक्ति विवरण, प्रशिक्षण निकायले आफ्नो प्रशिक्षण ईकाइको विशिष्टता तथा विज्ञता अनुसारको तालिम प्रस्ताव, ठूलो संख्यामा रहेका प्रहरी जवान तथा प्रहरी हवल्दारहरू तालिम तथा वृत्ति विकासको अवसर समेतलाई ध्यान दिनुपर्ने लगायतका विषयहरूमा छलफल भएको थियो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजद्वारा संचालित उक्त गोष्ठीमा प्रतिष्ठानका साथै प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी शिक्षालय भरतपुर लगायत देशभरका अन्य तालिम प्रदायक संस्थाका प्रमुख, तालिम शाखा प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

गोष्ठी समापन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।