वैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने चार जना पक्राउ

काठमाडौं, चैत १७

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सर्लाही हरिवन नगरपालिका–९ घर भई काठमाडौं टोखा नगरपालिका–१५ बस्ने ३५ वर्षीय रूपेश कुमार ठाकुर, सर्लाही वरहथवा नगरपालिका–३ घर भई काठमाडौं टोखा बस्ने ३० वर्षीय कृष्ण बहादुर राई, बाजुरा हिमाली गाउँपालिका–६ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० कपन बस्ने ३५ वर्षीय पर्वराज पाण्डे र ललितपुर महानगरपालिका–१० चापागाउँ बस्ने ४६ वर्षीय जिवन तामाङ रहेका छन् ।

पक्राउमध्ये रूपेश कुमार र कृष्ण बहादुरले क्यानडा, पोल्याण्ड, माल्टा र क्रोएसिया पठाईदिन्छु भन्दै २२ जना पीडितहरूबाट ८० लाख रूपैयाँ ठगी गरेको, पर्वराजले जापान पठाईदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ ठगी गरेको र जिवनले न्यूजिल्याण्ड पठाईदिन्छु भन्दै १ लाख ६० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले रूपेश कुमार र कृष्ण बहादुरलाई काठमाडौं स्वयम्भूबाट तथा पर्वराज र जिवनलाई  काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।