छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं, चैत १८ 

झापाको कन्काई नगरपालिका–८ बिरिङ पुलमा प्रदेश–१–०१–०१२ प ५७७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार कमल गाउँपालिका–३ बस्ने २७ वर्षीय पूर्णिमा भण्डारीको छोरा ८ वर्षीय प्रसान्त भण्डारीको मृत्यु भएको  छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको विर्तासिटी अस्पताल विर्तामोडमा र मोटरसाइकलमा सवार २ जनाको विएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ ।

खोटाङको बराहापोखरी गाउँपालिका–१ भिरगाउँस्थित सडकमा मे.१ त ८५९७ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ७ सय मिटर तल खसेर शनिबार साँझ दुर्घटना हुँदा चालक झापा बुद्धशान्ति नगरपालिका–४ बस्ने २८ वर्षीय अमृत लिम्बुको मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनालाई उपचारको लागि उदयपुर गाइघाटतर्फ पठाइएको छ । 

मकवानपुरको हेटौडा उपमहानगरपालिका–११ नवलपुरस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३५ वर्षीय ज्ञाने सुनारको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।  

महोत्तरीको मनराशिश्वा नगरपालिका–७ झिङ्गास्थानस्थित सडकमा ज.५ प ९१४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार बलवा नगरपालिका–११ बस्ने ३६ वर्षीय जीत नारायण यादवको मृत्यु भएको  छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी हेल्थ केयर अस्पताल जनकपुर धनुषामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।