सवारी दुर्घटनामा चार जनाको मृत्यु

सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं, चैत २१

नवलपरासी पूर्वको गैडाकोट नगरपालिका–५ सरस्वती स्कुल चोकस्थित सडकमा ना.४ ख १०४१ नम्बरको बसले बा.९३ प ९२०९ नम्बरको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिदाँ स्कुटरमा सवार चितवन भरतपुर महानगरपालिका–२१ बस्ने पर्वत फलेवास नगरपालिका–४ घर भएकी ६८ वर्षीया पार्वती पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला सरकारी अस्पताल चितवनमा उपचारको क्रमममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी स्कुटर चालकको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको  छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

झापाको बिर्तामोड नगरपालिका–३ स्थित सडकमा प्र १–०१–००२ ह ६२१ नम्बरको अटो अनियन्त्रित भई मंगलबार बेलुकी दुर्घटना हुँदा अटोमा सवार ताप्लेजुङ घर भई बिर्तामोड नगरपालिका–९ बस्ने ३६ वर्षीय भिम बहादुर तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी अटोमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

पर्साको जगरनाथपुर गाउँपालिका–६ बहुअरी प्रसौनीस्थित सडकमा ना.७ प २६०३ र प्र २–०३–००९ प ५३१५ नम्बरका २ वटा मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार बेलुकी दुर्घटना हुँदा ना.७ प २६०३ नम्बरको मोटरसाइकल चालक सोही गाउँपालिका–६ बस्ने ४२ वर्षीय हरेन्द्र चौधरीको मृत्यु भएको छ । दुर्गटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका प्र.२–०३–००९ प ५३१५ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । 

कैलालीको जानकी गाउँपालिका–५ लम्की–टिकापुरस्थित सडकमा हाल नाम नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ । हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ । प्रहरीले दुर्घटनास्थलमा उद्धार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।