नेपाल टेलिकमद्धारा सेवा स्तरोन्नती

नेपाल टेलिकमद्धारा सेवा स्तरोन्नती

काठमाडौं, चैत २२

नेपाल टेलिकमले आफ्नो सेवा स्तरोन्नती गरेको छ । टेलिकमका अनुसार दूरसञ्चार कार्यालय सुन्धाराको क्षेत्राधिकार भित्र पर्ने सम्पूर्ण स्थानहरुमा सञ्चालित पुरानो कपर प्रविधिमा आधारित आधारभूत टेलिफोन (पिएसटिएन) सेवालाई फाईबर टू दी होम (एफटिटिएच) प्रविधिमा स्तरोन्नती गरिएको हो । बिहिबार सुन्धारामा आयोजित एक कार्यक्रममा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले कपर प्रविधिको टेलिफोन सेवाको स्वीच अफ गरी यो सेवा बन्द गरेको टेलिकमले जानकारी दिएको छ । 

कपर प्रविधिबाट वितरित टेलिफोन तथा ए.डि.एस.एल. लाईनहरु पूर्ण रुपमा आधुनिक फाईबर प्रविधिको एफटिटिएच नेटवर्कमा माईग्रेसन कार्य सम्पन्न गरी कपर नेटवर्क बन्द गरिएको हो .  
उक्त कार्यक्रममा प्रमुख अतिथी तथा कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले टेलिकम क्षेत्रमा प्रविधि रुपान्तरण आवश्यक रहेकोले त्यसैको निरन्तरता तथा समयको माग अनुरुप पुरानो कपर प्रविधिलाई आधुनिक फाईबर प्रविधिमा रुपान्तरण गरिएकोमा खुशी व्यक्त गरिन । 

एफटिटिएच प्रविधिमा माईग्रेसन भईसकेपछि ग्राहकले अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट तीव्र गतिको इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवा समेत प्राप्त गर्न सक्ने भएकोले यो सेवा ग्राहकहरुका लागि फलदायी हुने विश्वास कम्पनीको रहेको छ ।