अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

काठमाडौं, चैत २२ 

सुर्खेतको भेरीगंगा नगरपालिका–५ बबईस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ सय १० मिलिग्रामसहित वीरेन्द्रनगर नगरपालिका–११ बस्ने २२ वर्षीय मदन वादीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बबई र प्रदेश प्रहरी व्युरोबाट खटिएको प्रहरीले भे. १ ख ४११४ नम्बरको गाडीलाई जाँच गर्दा गाडीमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुनसरीको हरिनगर गाउँपालिका–५ बाट अवैध लागूऔषध गाँजा करिब १६ किलोसहित सोही गाउँपालिका–६ बस्ने २२ वर्षीय हफरोज मिया समेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले को.२ ह ६३६७ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

कञ्चनपुरको भिमदत्त नगरपालिका–४ बसपार्कस्थित सुदुर पश्चिम गेष्ट हाउसबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३४ ग्राम १ मिलिग्राम र नगद ८ हजार भारतीय रूपैयाँसहित सोही नगरपालिका–१५ बस्ने ३० वर्षीय भुवन साहुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–२ राजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३४ वर्षीय देव कुमार थापालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  
झापाको मेचिनगर नगरपालिका–६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्रामसहित मोरङ उर्लाबारी नगरपालिका–२ सुनझोडा बस्ने २० वर्षीय पवन भट्टराईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

कञ्चनपुरको बेलौरी नगरपालिका–४ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ मिलिग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली गोदावरी नगरपालिका–५ बस्ने २२ वर्षीय जीवन चौधरी र धनगढी उपमहानगरपालिका–१३ बस्ने २५ वर्षीय सचिन राना रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले से.४ प ६०९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

बाँकेको खजुरा गाउँपालिका–२ सत्ताईसधुरी बस्ने २३ वर्षीय राकेश परियारलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।