महानायक हमालको ’सफलताको कथा’ बैशाख १ गतेबाट सार्वजनिक हुने

महानायक हमालको ’सफलताको कथा’ बैशाख १ गतेबाट सार्वजनिक हुने

काठमाडौं, चैत २५

महानायक राजेश हमालले संचालन गर्ने टेलिभिजन शो ’सफलताको कथा’ नयाँ बर्षको अवसर पारेर बैशाख १ गतेबाट नेपाल टेलिभिजन र डिजिटल ओएसआर रियालिटी मार्फत प्रशारणमा आउने भएको छ। आज राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच उक्त घोषणा गरिएको हो । समृद्धि ईन्टरटेन्टमेन्टले निर्माण गरेको कार्यक्रम हाल १९ भाग सम्म तयार गरिएको र सय भाग सम्मको निर्माण गर्ने लक्ष्य रहेको कार्यक्रमका निर्माता तथा निर्देशक सुमन अधिकारीले बताए । 

कर्मठ हातको कथा, रगत पसिनाको कथा कार्यक्रम ’सफलताको कथा’ को १८ भाग अमेरिकामा रहेका विभिन्न क्षेत्रका व्यक्तित्व र क्यानाडामा रहेका एक व्यक्तित्वको गरि १९ भाग तयार गरिएको छ । कार्यक्रम बैशाख १ गतेबाट नेपाल टेलिभिजनमा साँझ ७ बजे प्रशारण हुनेछ । अमेरिकामा र क्यानाडामा रहनु भएका सफल ब्यक्तित्वहरुको कथालाई यसरी कार्यक्रम गर्न पाँउदा खुसी लागेको सुमनले बताए ।

कार्यक्रममा बोल्दै महानायक हमालले भने ’’बिदेशमा रहेर धेरै चुनौती सहेर संघर्षको बाबजुत पनि सफलता हासिल गर्नु भएको छ उहाँहरुले उल्लेख्य सफलता हासिल गर्नु भएको छ, अमेरिकी समाजमा अब्बल रहनु भएको छ । यो कार्यक्रममा उहाँहरुको मेहनत र सफलताको कथा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।’’ बिदेशमा रहेर भोग्नु भएको कथा बाहिर ल्याउनु पर्छ त्यो सबैको लागि प्रेरणा हुन्छ । पहिलो जेनेरेसन जो बिदेश पुग्नु भएको छ, उहाँहरुको कथाले धेरैलाई प्रेरणा पुगोस भन्ने उदेश्यले यो कार्यक्रमको निर्माण गरिएको हमालले बताए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका कलाकार मदनकृष्ण श्रेष्ठले बोल्ने क्रममा भने बिदेशमा गएर सफल हुनु भएको धेरै भेटेको छु । सफल हुनको लागि गर्नु भएको संघर्षका कुरा धेरैलाई देखाउने हुनाले यो कार्यक्रम महत्वपुर्ण हुनेछ । आजको कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल, गोरेटो कन्सल्टेन्सीका निर्देशक धिरज कंडेल, कलाकार जितु नेपालले मन्तब्य राखेका थिए । कार्यक्रम निर्माणको लागि गोरेटो कन्सल्टेन्सी र ट्रेक मि नेपालले बिसेष सहयोग गरेको छ । कार्यक्रममा ज–जसको अन्तर्वार्ता समेटिएको छ उनिहरुलाई सम्मान पनि गरिएको थियो ।