सिटिजन्स बैंकद्वारा स्नो याक फाउन्डेसनलाई सहयोग प्रदान

सिटिजन्स बैंकद्वारा स्नो याक फाउन्डेसनलाई सहयोग प्रदान

काठमाडौं, बैशाख ३ 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो स्थापनाको १७ औँ बर्ष पुरा गरी १८ औँ बर्षमा प्रवेश गर्ने क्रममा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालभरका पिछडिएका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको संस्था स्नो याक फाउन्डेसनलाई सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो सत्रौं बार्षिकोत्सव यहि बैशाख ७ गते मनाउदै छ ।

विशेष गरी बिपन्न परिवारमा जन्मेका बालबालिकालाई शिक्षा प्राप्त गर्ने आधारभूत अधिकार प्रदान गर्न संस्थालाई निकै कठिन चुनौतीहरूको सामना गर्नुपर्ने हुदाँ संचालनमा केही सहजता होस भन्ने हेतुले बैंकले एक समारोहका बीच रू १ लाखको चेक संस्थाका संचालक श्रीमणिराज शर्मालाई हस्तान्तरण गरेको हो । बालबालिकाहरुको उज्ज्वल भविष्यको परिकल्पना गर्दै स्नो याक फाउन्डेसनले बिगत एक दशक भन्दा बढी समय गुणस्तरीय शिक्षामा विद्यार्थीको पहुँच बढाउन समर्पित गरेको र उक्त रकम पनि बालबालिकाको शिक्षामा खर्च गर्ने कुरा संस्थाका संचालकले जानकारी दिनुभयो । हाल फाउन्डेसनले ५०० बालबालिकालाई शिक्षा प्रदान गरिरहेको छ ।

हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक  आदि  क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको जानकारी गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ४६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।