छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, बैशाख १२ 

सुर्खेतको भेरीगंगा नगरपलिका–५ रत्न राजमार्ग सडकमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको भे.१ प ७२१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक बाँके नेपालगञ्ज उपमहानगरपालिका–१० बस्ने २८ वर्षीय अजित केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई माया पोलिक्लिनिक छिन्चु सुर्खेत हुँदै थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ रिफर गरिएको छ । 

कास्कीको पोखरा महानगरपालिका–१४ चाउथेस्थित सडकमा बा.१ प १३३८ नम्बरको बस र ग.२४ प ३२९५ नम्बरको स्कुटर ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा स्कुटरमा सवार सोही महानगरपालिका–१४ बस्ने १९ वर्षीय खुसी प्रधानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई  प्रहरीले नियन्त्रणमा लिएको छ । 

दाङको लमही नगरपालिका–७ स्थित सडकमा रोकी राखेको लु.१ ख ९५७० नम्बरको ट्रकमा प्रदेश नम्बर ०३–२००९ प ९८५८ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार राती दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४३ वर्षीय महेन्द्र गिरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा  लिएको छ ।

झापाको शिवसताक्षी नगरपालिका–८ स्थित सडकमा मे.३ प ५००१ नम्बरको मोटरसाइकल र प्र १–०१–००१ च ९३२९ नम्बरको बोलेरो गाडी एकआपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।