जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ

काठमाडौं, बैशाख १३ 

काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने मुस्ताङ घरपझोङ गाउँपालिका–२ घर भएका ६७ वर्षीय सानु पन्ना चनले संचालन गरेको खाजा घरमा जुवा (पारा) खेलिरहेको अवस्थामा चन समेत ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेल्न प्रयोग गरेको नगद ८८ हजार रूपैयाँ , सिक्का ४६ थान, सेपर १ थान, लुडो ४ थान र सिमीको दाना सहित पक्राउ गरेको हो ।

कञ्चनपुरको भिमदत्त नगरपालिका–६ ऐठपुरस्थित लाल बहादुर सिंहको कालीका रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा भिमदत्त नगरपालिका–१८ बस्ने ४५ वर्षीय आशिष कुमार खत्री समेत ११ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ३ सय २९ रूपैयाँ र १३१ पत्ती ताससहित पक्राउ गरेको हो । 

ललितपुरको ललितपुर महानगरपालिका–८ ग्वार्कोस्थित सिन्धुपाल्चोक घर भएका ३५ वर्षीय बिषु तामाङको नन स्टप डान्स बारमा कौडा खेलिरहेको अवस्थामा तामाङ समेत १३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ३७ हजार ९ सय ६० रूपैयाँ र १९ पिस कौडासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।