अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

काठमाडौं, बैशाख १४ 

कैलाली, गोदावरी नगरपालिका–२ अत्तरियास्थित अन्नपूर्ण होटलका संचालक बझाङ छब्बिस पाथिभेरा गाउँपालिका–७ बस्ने ४८ वर्षीय कलक धामीलाई उनकै होटलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब १ सय ९८ ग्राम ८७ मिलिग्रामसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–१० बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ६० मिलिग्रामसहित कञ्चनपुर कृष्णपुर नगरपालिका–८ बस्ने २१ वर्षीय समिर वडायक समेत २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२४ हरपुरबाट अवैध लागूऔषध गाँजा ५ किलोसहित सोही उपमहानगरपालिका–१९ बस्ने ३३ वर्षीय प्रयाग महतो नुनियालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट इनर्वासिरहाबाट खटिएको प्रहरीले हरपुरबाट इनर्वासिरातर्फ साइकलमा जाँदै गरेका महतोलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

सुनसरीको धरान उपमहानगरपालिका–१३ आँपगाछीबाट अवैध लागूऔषध गाँजा ४ किलोसहित मोरङ कानेपोखरी घर बताउने २३ वर्षीय उसन विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट अमरहाटबाट खटिएको प्रहरीले को.१ ख ७७८७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।