विश्व बजारका लागि पनि नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो ः चेम्बर अध्यक्ष अग्रवाल

विश्व बजारका लागि पनि नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो ः चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं, बैशाख १६


नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल अन्तराष्ट्रिय लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताएका छन् । काठमाडौंमा आज शुरु इमर्जिङ नेपाल इन्भेष्टमेन्ट समिटको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष अग्रवालले विश्वको तुलनामा सस्तो श्रमशक्ती, छिमेकी भारत र चीनको उपभोक्ता बजार लगायतका कारणले नेपाल विश्वकै उत्कृष्ट गन्तव्य रहेको बताएका हुन । 


अध्यक्ष अग्रवालले भने, ‘नेपालमा ५७ प्रतिशत जनसंख्या सक्रिय श्रममा रहेको तथ्याङक छ, श्रम लागत पनि निकै सस्तो छ । यहा“ लगानी मार्फत उत्पादन भएका बस्तुहरुलाई  विश्वका झण्डै ३ अर्व जनसंख्या रहेका छिमेकी भारत र चीनको बजारमा पुर्‍याउन सकिन्छ ।’


आजको युगमा आर्थिक विकास र समृद्धिको यात्रामा एक्लै हिड्न नसकिने भन्दै अध्यक्ष अग्रवालले संयुक्त लगानीका लागि आव्हान समेत गर्नुभयो । लगानीको सुनिश्चितताका लागि सरकारले कानुनी वातावरण बनाएको अध्यक्ष अग्रवालको भनाई छ ।


नेपालमा पर्यटन, जलविद्युत, पूर्वाधार र सूचना प्रविधिको क्षेत्रमा लगानीका लागि अध्यक्ष अग्रवालले अन्तराष्ट्रिय लगानीकर्तालाई आव्हान गरे । विदेशी लगानीकर्तालाई प्रतिफल सुनिश्चित गर्न कानुनी वातावरणसंगै लाभयुक्त परियोजनाहरु छनोट गरेको अग्रवालले बताए । उनले भने, ‘अन्तराष्ट्रिय लगानीकर्ताका लागि सहज आवागमन, प्रतिफलको सुनिश्चितता र सहज बर्हिगमनको व्यवस्था एकद्धार नीतिबाटै गरिएको छ।’ 
काठमाडौंमा भईरहेको तेस्रो अन्तराष्ट्रिय सम्मेलनले अर्थतन्त्रमा दिर्घकालिन महत्व राख्ने उनले बताए ।

लगानी सम्मेलनमा प्राथमिकताका क्षेत्रसहित लगानीको आव्हान गरिएको र निजी क्षेत्र पनि साथै रहेकाले सम्मेलन फलदायी हुने अध्यक्ष अग्रवालले बताए । अन्तराष्ट्रिय लगानी सम्मेलनमा चेम्बर अफ कमर्सका तर्फबाट करिव १ दर्जन आयोजनालाई सोकेसका रुपमा राखिएको छ ।