इरानद्वारा ऐतिहासिक इस्लामिक नेतालाई लिएर इजिप्टको टिभी नाटकमाथि प्रतिबन्ध
तेहरान, १६ वैशाख (रासस/एएफपी) :
इरानी अधिकारीहरूले ऐतिहासिक ‘विकृति’ र ‘पक्षपातपूर्ण दृष्टिकोण’ लाई लिएर मध्ययुगीन एक फारसी व्यक्तित्व चित्रित गर्ने इजिप्टको टिभी शृङ्खलामाथि प्रतिबन्ध लगाएको सरकारी सञ्चारमाध्यमले आइतबार बताएको छ । ‘द एसान्सिस’ (अरबी भाषामा एल–हशाशिन) ले ११औँ शताब्दीमा रक्तपातपूर्ण राजनीतिक हत्याका लागि परिचित शिया मुस्लिम सम्प्रदायका विवादास्पद संस्थापक हसन–इ सब्बाहको कथा बताउँछ ।
उत्तरी र पश्चिमी इरानका पहाडी आधारहरूबाट सञ्चालन गर्ने सब्बाह र उनका हत्याराहरूको समूहका बारेमा ३०–इपिसोडको शृङ्खला पहिलो पटक यस महिनाको प्रारम्भमा समाप्त भएको पवित्र मुस्लिम महिनामा प्रसारण गरिएको थियो । त्यसबेलादेखि उक्त कार्यक्रमले मध्यपूर्वमा लोकप्रियता हासिल गरेको छ तर तेहरानको दृश्य–श्रव्य मिडिया नियामक निकायका प्रमुख मेहदी सेफीले भन्नुभयो, “एल–हशाशिन” शृङ्खलाको प्रसारण अब इरानमा स्वीकृत छैन ।
” आधिकारिक आइआरएनए समाचार एजेन्सीले सेफीलाई उद्धृत गर्दै भनेको छ, “इस्लामिक इतिहासको यो कथामा धेरै विकृतिहरू समावेश छन् र यसलाई पक्षपातपूर्ण राजनीतिक दृष्टिकोणका साथ तयार गरिएको जस्तो देखिन्छ ।” शृङ्खलाले ‘इरानीहरूको गलत छवि’ देखाएको भन्दै आइआरएनएले यसले इरानीहरूलाई ‘आतङ्कवादको सुरुआत’ सँग जोड्ने प्रयास गरेको छ भन्ने विशेषज्ञहरूको तर्कलाई उद्धृत गरेको छ । अर्को समाचार एजेन्सी आइएसएनएले उक्त शृङ्खला ‘सत्यको परिमार्जन र मिथ्याकरण’ को एउटा ‘उत्तम उदाहरण’ भएको बताएको छ ।
सब्बाहको कुख्यात पौराणिक कथाहरू र मध्ययुगीन आदेशले वर्षौंदेखि कथा साहित्यका धेरै कामलाई प्रेरित गरेको छ । सब्बाहको समूह बसेको अलामुत महलको अवशेष हाल उत्तरी इरानमा पर्यटकीय गन्तव्य हो । –––