नेपाली सेनाद्धारा बेलिब्रिजको समुद्घाटन

नेपाली सेनाद्धारा बेलिब्रिजको समुद्घाटन

काठमाडौं, बैशाख १७ 

नेपाली सेनाले बेलिब्रिजको समुद्घाटन गरेको छ । आईतबार धादिङ जिल्ला खनियावास र नेत्रावती दवजोङ्ग गाउँपालिकाको सिमानामा रहेको किम्ताङ्ग खोलामा नेपाली सेनाद्वारा निर्मित बेलिब्रिजको प्रतिनिधि सभा सदस्य रामनाथ अधिकारी तथा प्रधान सेनापति महारथी प्रभुराम शर्माले संयुक्त रूपमा समुद्घाटन गरेका हुन। 

धादिङ जिल्लाको खनियावास गाउँपालिका र नेत्रावती दवजोङ्ग गाउँपालिकाको सिमानामा रहेको किम्ताङ्ग खोलामा पक्की पुल नभएको कारण वर्षायाममा धादिङ जिल्लाको उत्तरी क्षेत्रका रुवी भ्याली, गंगा जमुना, खनियावास र नेत्रावत्री दवजोङ्ग गाउँपालिकाहरुमा आवतजावतमा कठिनाइ रहेकोले नुवाकोटस्थित त्रिशूली हाइड्रोपावरद्वारा निर्मित र हाल प्रयोग विहीन बेलिबृजलाई नेपाली सेनाले उक्त स्थानमा जडान गरेको हो । पुल निर्माणसँगै करिव ६० हजार स्थानीय लाभान्वित हुनेछन् ।

नवनिर्मित बेलीबृजको लम्बाई ४२.६७ मिटर, चौडाइ ४.२ मिटर तथा अधिकतम भार वहन क्षमता ३० टन रहेको छ । उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्यद्वय बुद्धिमान तामाङ्ग र बिना लामा, प्रदेश सभा सदस्यद्वय माननीय डम्बर बहादुर तामाङ्ग र गोविन्द बहादुर लम्साल, पूर्व राज्य मन्त्री दिलमान पाख्रिन, जनप्रतिनिधिहरू, नेपाली सेनाका रथीवृन्द, अधिकृत, सञ्चारकर्मीहरु लगायत उल्लेख्य संख्यामा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।