आइ.एम.ई. लाइफको खुद मुनाफा ३३ करोड नाघ्यो

आइ.एम.ई. लाइफको खुद मुनाफा ३३ करोड नाघ्यो

काठमाडौं, बैशाख १७ 

आइ.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । यस त्रैमाससम्म कम्पनीको खुद नाफा ३३ करोड १५ लाख ६० हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ७५ दशमलव ७९ प्रतिशतले बढेको हो । गत वर्ष सोही अवधिसम्म कम्पनीले १८ करोड ८६ लाख १३ हजार खुद नाफा गरेको थियो ।

चालू आर्थिक वर्षको त्रैमाससम्म कम्पनीले तीन अर्ब २९ करोड १५ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १० दशमलव २४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले दुई अर्ब ९८ करोड ५८ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले तीन अर्ब ११ करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले दुई अर्ब ८९ करोड ४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन सात दशमलव ७९ प्रतिशत बढी हो । 

कम्पनीको चुक्ता पूँजी चार अर्ब रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले शेयर प्रिमियम शीर्षकमा एक अर्ब ५३ करोड रुपैयाँ संचित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्ती कोषमा १५ करोड ९१ लाख रुपैयाँ र संचित जगेडा कोषमा ८५ करोड ९२ लाख रुपैयाँ रहेको छ । 

यस अवधिसम्म कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ११ रुपैयाँ ५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ एक सय ७७ रुपैयाँ २५ पैसा रहेको छ ।