छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं, बैशाख १७ 

कालिकोटको शुभकालिका गाउँपालिका–२ छातीस्थित सडकमा क.प्र.०२००१ क ०१२९ नम्बरको स्काईभेटर सडकबाट करिब १ किलोमिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा स्काईभेटरका सहचालक सोही गाउँपालिका–१ छाती बस्ने २४ वर्षीय दल बहादुर रिजालको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका स्काईभेटर चालकलाई उपचारको लागि सुर्खेत पठाइएको छ । 

भोजपुरको आमचोक गाउँपालिका–८ पारकवामा बांलखाबाट मैयुङटारतर्फ जाँदै गरेको को.१ ज २६१७ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा बोलेरोमा सवार २ जनाको मृत्यु भएको  छ । दुर्घटनामा सोही गाउँपालिका–१० बस्ने २७ वर्षीया रूना राईको घटनास्थलमै र गम्भीर घाइते भएकी सुनसरी धरान उपमहानगरपालिका–५ बस्ने ३६ वर्षीया शान्ती राईको घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार अन्य १२ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

बाँकेको खजुरा गाउँपालिका–७ सिमलघारीस्थित सडकमा लु.४ त ४५७५ नम्बरको ट्याक्टरले किचेर सोही ठाउँ बस्ने धिरेन्द्र शाहीकी छोरी ३ वर्षीया हिमान्सी शाहीको सोमबार दिउँसो मृत्यु भएको छ । ट्याक्टरले किचेर गम्भीर घाइते भएकी उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।