नेपाल भारतमैंत्री संघद्धारा मटिहानीका अग्नीपीडितलाई राहत वितरण

नेपाल भारतमैंत्री संघद्धारा मटिहानीका अग्नीपीडितलाई राहत वितरण

काठमाडौं, बैशाख १८ 

महोत्तरीको मटिहानी नगरपालिकास्थित जरलहवा बस्तीमा आगलागी हुँदा ‘बस्ने बास र खाने गाँस’ गुमाएका अग्नीपीडितलाई नेपाल भारत मैत्री संघले राहत वितरण गरेको छ । संघको केन्द्रीय कार्यालयको प्रतिनिधी टोलीले आगलागी क्षेत्रमा उपस्थित भै १०५ परिवारको लागि राहत वितरण गरेकोहो । संघका महासचिव बोधकृष्ण सुबेदीका अनुसार २१० वटा मक्षडदानी झुल, तन्ना र कच्चा कपडा सेट वितरण गरिएको छ । त्यस्तै, लुंगी, भेष्ट, साडी, ब्लाउज कपडा, पेटीकोट, च्यादरको १०५ परिवारको लागि वितरण गरिएको सुबेदीले बताए । 

आगलागी हुँदा एक सय ५० भन्दा बढी घर जलेर नष्ट भएका थिए । यसबाट ४५५ जना व्यक्ति प्रत्येक्ष प्रभावित भए । सो घटनामा पाँच वटा पशुचौपाया मर्नुका साथै १५ करोडभन्दा बढीको धनमाल क्षतिभएका नगरप्रमुख हरिप्रसाद मण्डलले बताएका छन् । 

मध्याह्नतिर लागेको आयो हावाको बहाबसँगै तीव्र गतिमा बस्ती पसेको थियो । सो आगो निभाउन मटिहानी, जलेश्वर, रामगोपालपुर र प्रदेश प्रहरी कार्यालयका दमकलसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले छ घण्टासम्म सङ्घर्ष गर्नुपरेको थियो ।

सो आगलागीमा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा अग्निपीडितको सहयोगार्थ जुट्न सम्बद्ध सामाजिक सङ्घसंस्था, मनकारी व्यक्तिहरु र विभिन्न निकायसँग अपिल गरिएको थियो । सोही अपिल अनुसार मैत्री संघले राहत वितरण गरेको संघका महासचिव सुबेदीको दाबी छ । संघले यस अगाडि पनि भूकम्प, बाढीपैरा जस्ता विपतमा राहत वितरण गर्दे आएको छ ।