अवैध लागूऔषधसहित विभिन्न स्थानबाट दुई जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट दुई जना पक्राउ

काठमाडौं, बैशाख १८ 

झापाको झापा गाउँपालिका–३ कामाटोलीबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय १६ ग्राम ६० मिलिग्राम, दाउ थान १ र खुकुरी थान १ सहित सोही गाउँपालिका–४ खैरबारी बस्ने २५ वर्षीय सरिफुल आलमलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा लागूऔषध कारोवार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको संयुक्त टोलीले आलमलाई नियन्त्रणमा लिने क्रममा निजले आफ्नो साथमा रहेको दाउ र खुकुरीले प्रहरीमाथि आक्रमण गर्न खोजे पश्चात प्रतिरक्षा स्वरूप प्रहरीले गोली फायर गर्दा गोली लागेर सामान्य घाइते भएका छन् । उनलाई तत्कालै उपचारार्थ प्रादेशिक अस्पताल भद्रपुर झापामा लगिएको छ । 

कैलालीको गोदावरी नगरपालिका–१ मनहराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय २० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका बस्ने २३ वर्षीय सुरज चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।