कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं, बैशाख २१   

सिरहामा आफ्नै बुवा ५१ वर्षीय चन्दर यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भन्ने जितेन्द्र यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जितेन्द्रले घरायसी वादविवादको कारण मंगलबार राति कुटपिट गर्दा गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्तल हुनासाथ इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते चन्दरको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा गएराति मृत्यु भएको हो । 

उदयपुरको कटारी नगरपालिका–६ धप्पर बस्ने सिन्धुली दुधौली नगरपालिका–७ कटहरे घर भएका ६५ वर्षीय बल बहादुर परियारको कुटपिट गरी हत्या गरेको अभियोगमा कटारी नगरपालिका–६ धप्पर बस्ने ३५ वर्षीय केसर बहादुर परियारलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । केसर बहादुरले सोमबार साँझ दाउराले हान्दा गम्भीर घाइते भएका बल बहादुरको कटारी अस्पताल हुँदै ब्लु क्रस अस्पताल त्रिपुरेश्वर काठमाडौंमा थप उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो । प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।