नक्कली नोटसहित मकवानपुर र मोरङबाट छ जना पक्राउ

नक्कली नोटसहित मकवानपुर र मोरङबाट छ जना पक्राउ

काठमाडौं, बैशाख २८

मकवानपुरको कैलाश गाउँपालिका–९ कुवापानी बस्ने १८ वर्षीय किशोरलाई नेपाली एक हजार दरको १२ थान नक्कली नोटसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । किशोरले सोही ठाउँस्थित किराना पसलमा सामान किन्दा नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट नामटारबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडा उपमहानगरपालिका–१४ घर भई सोही उपमहानगरपलिका–४ हुप्राचौर डेरा गरी बस्ने ३४ वर्षीय सुनिल ढुंगानाको कोठाबाट नेपाली एक हजार दरको ४३ थान नक्कली नोट फेला पारी सुनिल, मकवानपुरगढी गाउँपालिका–४ बस्ने २१ वर्षीय सोमराज थोकर, २८ वर्षीय अजित अर्याल र १८ वर्षीय किशोरलाई समेत बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मोरङको रंगेली नगरपालिका–९ दोहमनाबाट नेपाली पाँच सय दरको १८ थान नक्कली नोटसहित सुनवर्षी नगरपालिका–५ टकुवा बस्ने ४० वर्षीया कुरेसा खातुनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दोहमनाबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।