सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं, बैशाख ३१

ललितपुरको ललितपुर महानगरपालिका–४ नख्खुदोबाटोमा बा.४ ख १०४ नम्बरको बसले बागमती प्रदेश ०१ ०२–०५१ प ३८५० नम्बरको स्कुटरलाई सोमबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार सोही महानगरपालिका–२६ ढोलाहिटी बस्ने ४६ वर्षीया सविता थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको अल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

रूपन्देहीको तिलोत्तमा नगरपालिका–१५ पत्थरडाँडास्थित सडकमा रोकी राखेको ना.१ क ४३६४ नम्बरको क्रेनमा बा.१५ च ६४०७ नम्बरको कार ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा कार चालक बुटवल उपमहानगरपालिका–११ देविनगर बस्ने ६७ वर्षीय दुर्गा बहादुर गुरूङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । 

सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ कात्तिके स्थित सडकमा ग्वालटारबाट खोक्लिङतर्फ जाँदै गरेको ना.६ त २२२४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक गोलन्जोर गाउँपालिका–२ बस्ने ३१ वर्षीय रोशन बहादुर मगरको मृत्यु भएको छ । 
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।