समाज कल्याण परिषद्लाई डिजिटाइजेशनमा लैजान मन्त्री चौधरीको निर्देशन
काठमाडौं, जेठ १
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा समाज कल्याण परिषद्का अध्यक्ष भगबती चौधरीले समाज कल्याण परिषद्लाई डिजिटाइजेशनको प्रक्रियामा अगाडि बढाउन कर्मचारीलाई निर्देशन दिएकी छन् । समाज कल्याण परिषद्का नवनियुक्त उपाध्यक्ष नन्दलाल माझीको पदभार ग्रहण कार्यक्रमपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन । लामो समय ग्रासरूटका काम गरेर आएको व्यक्तिको सिफारिस अनुसार मन्त्रिपरिषद्ले उपाध्यक्ष नियुक्त गरेको बताउँदै मन्त्री चौधरीले आफ्नो कार्यकालमा केही नयाँ काम गरेर देखाउन परिषद्का पदाधिकारी तथा कर्मचारीलाई आग्रह गरिन ।
परिषद्लाई डिजिटाइजेशन गर्नका निम्ति परिषद्को बोर्ड र कासले निर्णय गरेको भन्दै त्यसलाई अगाडि बढाउन समेत निर्देशन दिँदै मन्त्री चौधरीले आफूले गर्न खोजेको कार्यमा साथ दिन निर्देशन दिईन । ‘परिषद्लाई अझ राम्रो बनाउनका निम्ति मैले केही काम गर्न खोजेको छु, यहाँहरूले त्यसमा साथ दिनुपर्छ’, मन्त्री चौधरीले भनिन, ‘हामीले परिषद्लाई डिजिटाइजेशनमा लैजाने भनेका छौँ । त्यसमा जानका निम्ति निर्णय भएका छन् । भेण्डर आह्वान गर्ने निर्णय गरेका छौँ । त्यसलाई अगाडि बढाउन लाग्नुस् ।’ समाज कल्याण परिषद्लाई नयाँ ढङ्गले सञ्चालन गर्न आवश्यक रहेको भन्दै उनले मुलुक संघीय संरचनामा गइसकेपछि प्रादेशिक संरचनामा पनि जान जरुरी रहेको बताईन ।
जति सक्दो सहज र छिटो छरितो तवरले सेवाग्राहीलाई सेवा प्रवाह गर्नुपर्ने अपरिहार्यता रहेको भन्दै मन्त्री चौधरीले परिषद्को संरचनागत सुधारका निम्ति अगाडि बढ्न निर्देशन दिईन । ‘अहिलेको आवश्यकता अनुसार प्रादेशिक संरचनामा जान जरुरी छ । त्यसरी जाँदा परिषद्को सेवा ग्रासरुटसम्म पुग्छ, मन्त्री चौधरीले भनिन, ‘परिषद्को संरचनागत सुधारका लागि अगाडी बढ्नुस्, त्यसका लागि यहाँहरूलाई म सहयोग गर्न तयार छु ।’
कर्मचारीको वृत्ति विकास तथा कार्य सम्पादन मूल्याङ्कनमा ध्यान दिन जरुरी रहेको भन्दै उनले कर्मचारीबिच विभेदजन्य व्यवहार हुन नहुने बताईन । मन्त्री चौधरीले कर्मचारीको वृत्ति विकास, कार्य सम्पादन मूल्यांकन गरी बढुवाका लागि प्रक्रिया अगाडि बढाउन समेत निर्देशन दिईन । ‘कर्मचारीको वृत्ति विकास, कार्य सम्पादन मुल्याङ्कन गरी बढुवाका लागि तत्काल प्रक्रिया अगाडी बढाउनुस, उनले भनिन,‘कर्मचारीबिच विभेद नगर्नुस् । नयाँले पनि पुरानाहरूलाई कामहरू सिकाउनुपर्छ । उनीहरूलाई तालिमको व्यवस्थापन, वृत्ति विकास, कार्य सम्पादन मूल्याङ्कन गर्नुपर्छ ।’
सबैले साथ दिएमा त्यो सफल हुने भन्दै उनले छुट्टै कर्मचारी नियमावली ल्याएर पनि कर्मचारीहरूको व्यवस्थापन गर्न सकिने बताईन । मानव स्रोत व्यवस्थापन तोकेर कर्मचारी व्यवस्थापन गर्न आग्रह गर्दै मन्त्री चौधरीले आवश्यक तालिम, सेमिनार, गोष्ठीको व्यवस्थापन गर्न निर्देशन दिईन । परिषद्का पदाधिकारी तथा कर्मचारीहरू मिलेर काम गर्न निर्देशन दिँदै उनले एकले अर्काको सम्मान गर्दै अगाडि बढेमा संस्थालाई मर्यादित बनाउन सकिने बताईन ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूका कार्यहरू विधिसंम्मत् सहज रूपमा अगाडी बढाउन पदाधिकारी, कर्मचारीहरू एकजुट भएर अगाडी बढ्न समेत उनले निर्देशन दिईन । पदीय जिम्मेवारी निर्वाह गर्न कर्मचारीलाई निर्देशन दिँदै उनले अरूले के गरे भनेर खोतल्दा आफ्नो काम, कर्तव्य र दायित्व नबिर्सन समेत ध्यानाकर्षण गराईन । परिषद् भित्र देखिने विवाद तथा समस्याको समाधान परिषद् भित्रै समाधान गर्न समेत उनले निर्देशन दिईन । ‘विवाद र समस्या आएमा सबैभन्दा पहिले परिषद् भित्रै समाधान खोज्नुस् । अनावश्यक रूपमा बाहिर उजुरी गर्ने, प्रमाण बिना बोल्ने कार्य नगर्नुस्, एकले अर्कालाई प्रतिघात गरी अस्वस्थ प्रतिस्पर्धा रोक्नुस् केही समस्या छ भने, यहीँभित्रै समाधान गर्नुपर्‍यो’, मन्त्री चौधरीले भनिन, ‘विवाद पहिले आफैँले समाधान गर्ने हो । यहाँभित्रको कुरा बाहिर ल्याउने होइन । घटनाको तथ्य पत्ता लगाएर समस्याको समाधान गर्नुपर्छ ।’
आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट समयमै बनाउन परिषद्का कोषाध्यक्षलाई निर्देशन दिँदै उनले बजेट, नीति तथा कार्यक्रम बनाउँदा परिषद्का अध्यक्ष, उपाध्यक्ष र सदस्य सचिवसँग परामर्श, सल्लाह, समन्वय गरेर अगाडि बढ्न कोषाध्यक्षलाई निर्देशन दिईन ।