लागूऔषध दुर्व्यसन, लैंगिक हिंसा र बाल विवाह नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
प्युठान, जेठ ६
नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरको प्रमुख आतिथ्यता लागूऔषध दुर्व्यसन, लैंगिक हिंसा र बाल विबाह नियन्त्रण“ सम्बन्धी सचेतनामूलक कार्यक्रम प्युठान नगरपालिका–९ मरन्ठाना मजुवास्थित बाल विद्या माविमा शनिबार सम्पन्न भएको छ । प्युठान नगरपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय प्यूठानको समन्वय तथा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको सहकार्यमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा संघकी अध्यक्ष कुँवरले लागूऔषध, लैंगिक हिंसा र बालविवाह जस्ता चुनौतीको सामना गर्न सबै सचेत हुन जरूरी रहेको बताउँदै प्रहरीद्वारा संचालित हुने यस्ता किसिमका सचेतनामूलक कार्यक्रमले समाजमा चेतनाको अभिबृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले समाजमा शान्ति शुरक्षा स्थापना गर्न समाज र प्रहरीको हातेमालो हुन जरुरी रहेको बताउँदै अपराध न्यूनीकरण तथा रोकथाम गर्न स्थानीय स्तरबाटै जागरूक हुनुपर्नेमा जोड दिनुभयो ।
प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले सबै किसिमका हिंसा र अपराधको बारेमा सबै जागरूक हुनुका साथै कुनै पनि अपराधिक घटना भएको देखेमा सम्बन्धित निकायमा तत्कालै उजुरी दिनुपर्नेमा जोड दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वुर थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्युठान नगरपालिकाका उपप्रमुख देबेन्द्र वर्मा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शुशिल पोख्रेल, सोही नगरपालिका–९ का वडाध्यक्ष विकास केसीले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।
प्युठान नगरपालिकाका प्रमुख बिष्णु बहादुर योगीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गन्दर्भ समाज नेपाल प्युठानका साँस्कृतिक टोलिद्वारा सचेतनामूलक गीतसमेत प्रस्तुत गरिएको थियो ।