सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं, जेठ ६

रोल्पाको रोल्पा नगरपालिका–४ खाद्य टोलमा लु.३ त ३४०२ नम्बरको ट्याङकर सडकबाट करिब १५ मिटर तल खसेर शनिबार बेलुकी दुर्घटना हुँदा ट्याङकरमा सवार लुङग्री गाउँपालिका–६ गुम्चाल घर भई रोल्पा नगरपालिका–१ मेवाङ बस्ने ४३ वर्षीया रूपशरी बिष्टको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल रेउघामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सिरहाको धनगढीमाई नगरपालिका–४ निम चोकस्थित सडकमा मधेश प्रदेश ०१–००४ प ६२१५ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार लहान नगरपालिका–५ बस्ने ७९ वर्षीया फुलझरीया देवी महतोको मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल लहान सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार स्कुटर चालकको प्रहरीले खोजी गरिरहेको छ । 

रूपन्देहीको बुटवल उपमहानगरपालिका–१३ झोलुङेपुलस्थित सडकमा लु.१ झ ५३१ नम्बरको अर्घाखाँची जिल्ला अस्पतालको एम्बुलेन्सको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका–११ नहरपुर बस्ने ५६ वर्षीया कमला नेपालीको आइतबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको   हो । साथै ठक्करबाट घाइते भएका अन्य २ जना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।