पलले सार्वजनिक गरे वृद्ध उमेरमा प्रहरी मुठभेडको तस्बिर, ‘पुजार सार्की’को भूमिकामा उत्सुकता

पलले सार्वजनिक गरे वृद्ध उमेरमा प्रहरी मुठभेडको तस्बिर, ‘पुजार सार्की’को भूमिकामा उत्सुकता

काठमाडौं, जेठ ८

चलचित्र ‘पुजार सार्की’ रिलिजको दुई दिन अगाडी यसका अभिनेता पल शाहले आफ्ना दुई फोटोहरू सार्वजनिक गर्दै आफ्नो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर अनुमान लगाउन सकिने बताएका छन् ।मङ्गलवार बिहानै फेसबुकमा सार्वजनिक फोटोहरूमा उनी वृद्ध अवस्थामा देखिएका छन् । पल र प्रहरी मुठभेड देखिएको छ । पक्राउ गर्न खोजिरहेको देखिन्छ । यो तस्बिरबाट ‘पुजार सार्की’ को कथा वर्तमान समयसम्म आइपुगेको अनुमान गर्न सकिन्छ । पलको फोटोलाई उनका फ्यानहरूले उत्सुकताका साथ प्रतिक्रिया दिइरहेका छन् । 

फोटो सार्वजनिक गर्दै पलले लेखेका छन्, “चलचित्र ’पुजार सार्की’ रिलिज हुन अब मात्र दुई दिन बाँकी छ  । मेरो करिअरमा महत्त्वपूर्ण चलचित्र “पुजार सार्की” साबित हुनेमा म ढुक्क छु । मैले केही दिन अगाडी पनि भनेको थिएँ की म अर्को चलचित्र ‘रावायण’ को छायाङ्कनका कारण ’पुजार सार्की’ को प्रचारमा प्रत्यक्ष सहभागी हुन सकेको छैन । मेरो भूमिका र प्रचारको सहभागिताका विषयमा मेरा शुभेच्छुकहरूले देखाउनु भएको चासो र चिन्ताप्रति नतमस्तक छु । थुप्रै सञ्चार माध्यमहरूमा पनि मेरो खोजी भइरहेको खबर पाइरहेको छु । चाहेर पनि मैले प्रत्यक्ष रूपमा म यहाँहरूको अगाडी उपस्थित हुन सकेको छैन । मेरो यो बाध्यतालाई यहाँहरूले बुझिदिनुहुनेछ भन्ने अपेक्षा लिएको छु । ”

उनले लेखेका छन्, “आज मैले ’पुजार सार्की’ मा मेरो अभिनयबाट यो तस्बिर सार्वजनिक गरेको छु । यो तस्बिरबाट तपाईँले मेरो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर पक्कै अनुमान लगाउनु हुनेछ । यसअघि पनि तपाईँले मेरो चरित्र चित्रण हुने तस्बिरलाई नै लिएर देखाउनु भएको प्रेम अतुलनीय छ ।”

उनले “जेठ १० गते, यही बिहीबार, बुद्ध जयन्तीको दिन देखि हल हलमा नै भेटौँ है” भन्दै हलमा दर्शकलाई आह्वान गरेका छन् । अन्त्यमा पलले आफूलाई ‘पुजार सार्की’ को पात्र मेघराज खत्रीको रूपमा चिनाएका छन् ।