अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौं, जेठ १०

सर्लाहीको लालबन्दी नगरपालिका–७ लालबन्दी बजारबाट अवैध लागूऔषध गाँजा ५ किलोग्रामसहित महोत्तरी जलेश्वर नगरपालिका–९ बस्ने ६५ वर्षीय नागेन्द्र सिंहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यसैगरी सर्लाहीको लालबन्दीनगरपालिका–७मरिनचोकबाट अवैध लागूऔषध गाँजा २ किलो ८ सय ग्रामसहित सोही नगरपालिका–१४ बस्ने २५वर्षीय मनबहादुररूम्बालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

मोरङको बिराटनगर महानगरपालिका–१६ दरैया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७ सय ३० मिलिग्रामसहित कैलाली धनगढीउपमहानगरपालिका–१ बस्ने २५ वर्षीय धिरज बिश्वकर्मालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०५३ प३८६१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा चालक बिश्वकर्मालाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ पशुपती टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ३० मिलिग्रामसहित बैतडी दोगडाकेदार गाउँपालिका–२ बस्ने ३६ वर्षीय नर बहादुर बिष्टलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुर र इलाका प्रहरी कार्यालय दोधार चाँदनीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । झापाको विर्तामोड नगरपालिका–५ सुकुमबासी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ५ सय १० मिलिग्राम, गाँजा २ सय ८९ ग्राम ९ सय ७० मिलिग्राम र नगद २ हजार ६ सय ७० रूपैयाँसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा विर्तामोड नगरपालिका–५ बस्ने ३६ वर्षीय कृष्ण ठाकुर र सुनसरी दुहवी नगरपालिका–२ घर भई हाल झापा विर्तामोड नगरपालिका–४ बस्ने ४२ वर्षीय खड्ग नारायण चौधरी रहेका छन् । अस्थायी प्रहरी पोष्ट नयाँबसपार्क विर्तामोडबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । सल्यानको छत्रेश्वारी गाउँपालिका–६ कल्लेखोलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६० मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा छत्रेश्वारी गाउँपालिका–६ लान्ती बस्ने २० वर्षीय पाण्डप गिरी र शारदा नगरपालिका–२ बस्ने १७ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी भोटेचौरबाट खटिएको प्रहरीले रा.५ प४९९० नम्बरको मोटरसाइकललाई जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 
डडेल्धुराको अमरगढी नगरपालिका–४ खलंगा बस्ने २४ वर्षीय मिन बहादुर बिष्टलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  उदयपुरको त्रियुगा नगरपालिका–११ गाईघाटबाट अवैध लागूऔषध गाँजा १ किलो १० ग्रामसहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सप्तरी सुरुङ्गा नगरपालिका–२ घर भएका २९ वर्षीय दिपक बस्नेत,२९ वर्षीय प्रकाश खड्का र ३२ वर्षीय सुदर्शन गेलाल रहेका छन् । विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी तीनै जनालाई पक्राउ गरेको हो । नवलपरासी पूर्वको देवचुली नगरपालिका–१७ पिप्रहर बस्ने ३८ वर्षीय कुल प्रसाद खोजवरलाई अवैध लागूऔषध गाँजा करिब ७ किलो ५ सय ग्रामसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

बाँकेको कोहलपुरनगरपालिका–८मन्नापुरबाट अवैध लागूऔषधब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ९ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने३१ वर्षीयगौरीशंकरथारू समेत २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।