प्रतिभा खोज्दै रोङ गाउँपालिका, ‘रोङ गट ट्यालेन्ट’को आवेदन खुल्ला

प्रतिभा खोज्दै रोङ गाउँपालिका, ‘रोङ गट ट्यालेन्ट’को आवेदन खुल्ला

काठमाडौं, जेठ ११

इलामको रोङ गाउँपालिकामा प्रतिभा खोजी अन्तर्गत ‘रोङ गट ट्यालेन्ट’ कार्यक्रम हुने भएको छ । रोङ प्रतिभाको खोजी अन्तर्गत गायन, नृत्य र साहित्य क्षेत्रको प्रतिभालाई समुदायमा उजागर गर्न रोङ गट ट्यालेन्ट कार्यक्रम आयोजना गर्न लागिएको हो ।

रोङ प्रतिभाको खोजी निर्देशक समितिको आयोजना, रोङ गाउँपालिकाको आर्थिक सहयोग र रोङ विद्यार्थी एकता समितिको सह–आयोजनामा कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । गायन, नृत्य र कविता लेखनमा अब्बल प्रतिभालाई अवसर दिन यो कार्यक्रम आयोजना गरिएको रोङ प्रतिभा खोजी निर्देशक समितिका संयोजक प्रमेश राईले बताए ।

उनले भने, ‘गाउँ–गाउँमा प्रतिभाहरू लुकेर रहेका छन् । यस्ता प्रतिभाको प्रष्फुटनका लागि हामीले यो कार्यक्रम आयोजना गरेका हौँ । यो कार्यक्रमले गाउँमा लुकेका प्रतिभालाई राष्ट्रसामु चिनाउनेछ । रोङमा रहेका स्थापित प्रतिभाहरूले सम्मानित हुने मञ्च पाउनेछन् । नयाँ प्रतिभाका लागि परिचित हुने अवसर हुनेछ ।’ प्रतिभा खोजी चार चरणमा हुने आयोजकले जनाएको छ । प्रारम्भिक चरणमा रोङभित्रका ६ वटै वडाबाट प्रतिभा छनोट हुने छन् । त्यसका लागि वडामा अडिसन राखिने निर्देशक समिति सदस्य गृष्मा सापकोटाले जानकारी दिइन् । यसका लागि इच्छुकले ९ जेठबाट १६ जेठसम्म वडा कार्यालय पुगेर फारम भर्न सक्ने छन् ।
यस्तै, पहिलो चरणको प्रतिस्पर्धात्मक कार्यक्रम हुनेछ ।

त्यस चरणमा ६ वटा वडालाई तीन समूहमा विभाजन गरेर प्रत्येक समूहबाट तीनवटै विधामा १५–१५ जना गरी एउकटा विधामा ४५ जना छनोट हुने सापकोटाले बताइन् । दोस्रो चरणमा प्रत्येक विधामा १५–१५ जना प्रतिभा छनोट हुनेछन् । यसलाई सेमीफाइनल चरण भनिने आयोजकले जनाएको छ । अन्तिम चरणलाई फाइनल चरण भनिनेछ । यसमा प्रत्येक विधामा ५-५ जना प्रतिभा छनोट गरेर उत्कृष्टलाई पुरस्कृत गरिनेछ । तीनवटै विधामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद ३० हजार, २० हजार र १० हजार पाउने आयोजकले जनाएको छ ।
कार्यक्रममा निर्णायक भने रोङ बाहिरका हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि ११ लाख ६२ हजार पाँच सय बजेट लाग्ने आयोजकको अनुमान छ । जसमध्ये गाउँपालिकाले आठ लाख रकम ब्यहोर्नेछ । बाँकी प्रायोजकबाट खोज्नुपर्नेछ । ‘विकास भनेको भौतिक पूर्वाधारको विकास मात्र हैन । यहाँका प्रतिभाको खोजी गरेर उनीहरूलाई प्रष्फुटन गर्नु पनि विकास हो ।

मानव जीवनको समग्र पक्षको विकास हुनुपर्छ भन्ने गाउँपालिकाको निष्कर्ष हो,’ रोङकी उपाध्यक्ष विष्णुमाया भुजेलले भनिन्, ‘गाउँमा पुग्दा धेरै राम्रा प्रतिभा हामीले देखेका छौँ । उनीहरूलाई बाहिर ल्याएर राष्ट्रसामु चिनाउनु गाउँपालिकाको दायित्व पनि हो ।’