अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ

काठमाडौं, जेठ १५

काठमाडौंको गोकर्णेश्वबर नगरपालिका–१ सुन्दरीजलस्थित राष्ट्रिय निकुञ्जको जंगलबाट अवैध लागूऔषध गाँजा करिब १३ किलोग्रामसहित सोही ठाउँ बस्ने ३५ वर्षीय अर्जुन लामालाई सोमबार राति प्रहरी प्रभाग सुन्दरीजलबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

सिरहाको सिरहा नगरपालिका–१२ सारस्वरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ८० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कल्याणपुर नगरपालिका–२ चतरी बस्ने २४ वर्षीय शेख जाहिद र ३५ वर्षीय मोहम्द समसुदिन रहेका छन् । प्रहरी चौकी बेल्हाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज.१२ प ५२४३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट अवैध लागूऔषध गाँजा २ किलोग्रामसहित धादिङ निलकण्ठ नगरपालिका–४ बस्ने १७ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग.१ ख २९८५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।