अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

काठमाडौं, जेठ २२

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ देउरालीबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ५ सय ५० ग्रामसहित काठमाडौं नयाँ बसपार्क बस्ने लमजुङ राइनस नगरपालिका–७ घर भएका २८ वर्षीय राजन श्रेष्ठ र सुनसरी रामधुनी नगरपालिका–५ घर भएका ३६ वर्षीय निरोज दाहाललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०२–०२९ प १४०५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  

झापाको अर्जुनधारा नगरपालिका–११ स्थितमा एम्बाप्पे होटल एण्ड लजको कोठा नम्बर १०१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्रामसहित सोही नगरपालिका–११ घर बताउने २९ वर्षीय मनिष प्रधान र पाँचथर फिदिम नगरपालिका–१ घर बताउने २० वर्षीया खिङतानुङ तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

पाल्पाको तानसेन नगरपालिका–२ मेहलधारास्थित डियास कटेजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६० मिलिग्रामसहित गुल्मी सत्यवती गाउँपालिका–४ घर भई हाल पाल्पा तानसेन नगरपालिका–६ बस्ने ४१ वर्षीय शिब प्रसाद बुढाथोकीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित सुर्खेती सल्यानी होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्रामसहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका–११ बस्ने कालिकोट घर भएकी ३० वर्षीया अप्सरा पुन मगर र सल्यान बनगाड कुपेन्डे नगरपालिका–८ बस्ने ३७ वर्षीय दिल बहादुर बुढा रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यसैगरी बाँकेको कोहलपुर नगरपालिका–१२ मसुरीखेत बस्ने २० वर्षीय सन्तोष रसाईलीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्रामसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थसहित पक्राउ गरेको हो ।बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुर लौकाहीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय १० मिलिग्रामसहित मधुबन नगरपालिका–५ बस्ने १९ वर्षीय समिर सार्कीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी महम्मदपुर र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । मोरङको सुन्दरहरैचा नगरपालिका–६ बस्ने ३७ वर्षीय मनिष लिम्बुलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ९ सय ७० मिलिग्रामसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।