चन्दा सङ्कलन गरेर विद्यालय भवन निर्माण

चन्दा सङ्कलन गरेर विद्यालय भवन निर्माण

थलारा (बझाङ), २३ जेठः

सपना विष्ट कक्षा ७ मा अध्ययनरत हुनुहुन्छ । कक्षामा पढिरहेका बेला गत असोज १६ गते अपराह्न २ बजेको भूकम्पले भागाभाग भएको थियो ।थलारा गाउँपालिका–९ मा रहेको भवानी आधारभूत विद्यालयका सपनासहितका विद्यार्थी कापीकलम छाडेर भाग्नुभएको थियो । “भुँयचालोले भवानी आधारभूत विद्यालयको भवन भग्नावशेषमा परिणत भएपछि विद्यार्थीहरू चौरमा बसेर पढ्न थाल्नुभयो । “चौरमा बस्दा पनि भूकम्प हुने र ढुङ्गाहरू खस्ने डर भइरह्यो”, विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर विष्टले भन्नुभयो, “विद्यालय बन्द गर्ने कुरा भएन । चौरमा पढाउन पनि डर भयो ।

भिरालो ठाउँमा जोखिम मोलेर गुजार्यौँ ।” उक्त विद्यालयका बालबालिका खुला चौरमा पढ्न बाध्य भएको खबर सार्वजनिक भएपछि नेपाल रेडक्रस ले चासो देखाएको प्रधानाध्यापक विष्ट सम्झनुहुन्छ । “समाचार सार्वजनिक भएपछि रेडक्रसको काठमाडौँ शाखाले विद्यार्थीको समस्या समाधानको चासो देखायो ।

हामी निकै उत्साहित भयौँ ”, उहाँले भन्नुभयो । शाखाले काठमाडौँका विद्यालयमा सञ्चालन गरेको ‘मेरो एक दिनको खाजा भूकम्प प्रभावित साथीलाई’ कार्यक्रम चलाएर रकम सङ्कलन गर्दै विद्यालयको खातामा जम्मा गर्यो । विद्यालय भवनको काम भइरह्यो र निर्माण कम्पनीसँग सम्झौता भएको तीन महिनामै भवन निर्माण गरेर रेडक्रस काठमाडौँ शाखाले हस्तान्तरण गर्यो ।

काठमाडौँ शाखाले रेडक्रसकै विभिन्न उपशाखा, संस्था, व्यक्तिसँग हात फिजाएर रकम जम्मा गर्दै विद्यालय भवन निर्माण गरेको नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाका सभापति श्यामकाजी डोटेलले बताउनुभयो । उहाँले समाचारमा पढेको पीडालाई सहन नसकेर सबैलाई सहयोग माग्दै भवन निर्माण गरेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढेपबहादुर विष्टलाई भवन हस्तान्तरण गर्दै सभापति डोटेलले भन्नुभयो, “रेडक्रस भनेको पीडितको घाउमा मल्हम लगाउने संस्था हो ।

” विद्यालय भवन हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख कृष्णबहादुर विष्टले विद्यार्थीलाई खुला चौरमा पठनपाठन गराउँदा कापीकलम उडेर खोलामा पुग्ने समस्या अब टरेको बताउनुभयो । “पहिले खुलाचौरमा शिक्षक विद्यार्थीलाई अति नै समस्या थियो । त्यसै बेलामा काठमाडौँ रेडक्रसलाई भगवान्ले टुप्लक्क पठाएजस्तै भयो । बेसहारालाई सहारा दिनुभयो । विद्यालय परिवार खुसी छ”, उहाँले भन्नुभयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष डिबी विष्टले पनि समाचारका आधारमा विद्यालय भवन बनाउने काठमाडौँ शाखाको कामको प्रशंसा गर्नुभयो ।

“सानो लगानीमा बलियो तीनकोठे भवन बन्छ भन्ने कसैलाई विश्वास थिएन । तर, सम्भव भयो”, उहाँले भन्नुभयो । काठमाडौँ रेडक्रसले भवानी आधारभूत विद्यालयको तीनकोठे भवन निर्माण गरेको छ । “विद्यार्थीको पीडा सुनेर नयाँ शैक्षिकसत्रदेखि पठनपाठन हुनेगरी तयारी गरेका थियौँ”, रेडक्रस काठमाडौँ शाखाका सभापति डोटेलले भन्नुभयो, “हाम्रो अभियान सफल भयो । अब बालबालिकालाई सहज हुनेछ । हामी पनि खुसी छौँ ।”राष्ट्रिय समाचार समिति (रासस)