अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ

काठमाडौं, जेठ २५

सुनसरीको धरान उपमहानगरपालिका–१७ लोकप्रिय मार्गबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार २ सय क्याप्सुल र अवैध लागूऔषध ब्राउनसुगर १२ ग्रामसहित सोही ठाउँ बस्ने ३७ वर्षीय भुपाल न्यौपानेलाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

मोरङको सुन्दरहरैचा नगरपालिका–१२ सुकुना चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्रामसहित बेलबारी नगरपालिका–२ बस्ने २४ वर्षीय दाबुद मोहमदलाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिराटचोक र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी सोधपुछ गर्दा उक्त पदार्थ चोकस्थित विश्वास उपचार क्लिनिकबाट खरिद गरेको खुल्न आएपश्चात उक्त क्लिनिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्रामसहित क्लिनिक सञ्चालक भारत कलकत्ता घर भएका २५ वर्षीय नयन विश्वासलाई समेतलाई प्रहरीले पक्राउ गरेको हो ।

झापाको दमक नगरपालिका–४ वेतिनी टोल बस्ने ४८ वर्षीया गायत्रा गौतमलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ५ सय ३० मिलिग्राम र नगद ३ लाख ३६ हजार ४ सय रूपैयाँसहित बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।