अवैध लागूऔषधसहित चार जना पक्राउ

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं, जेठ २८

कास्कीको पोखरा महानगरपालिका–१३ कसेरीबाट अवैध लागूऔषध गाँजा ३ सय ७५ ग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महागनगरपालिका–१३ संगम टोल बस्ने ३० वर्षीय सागर परियार र सोही महानगरपालिका–१३ चापापानी बस्ने १९ वर्षीय विशाल नेपाली रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुई खप्टिनालाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ९ मिलिग्रामसहित भारत उत्तर प्रदेश पिलभित टिल्ला नम्बर ४ बस्ने २४ वर्षीय सोनु सिंहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।  सुदूरपश्चिरम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली समेतबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोग्रामसहित मनहरी गाउँपालिका–२ बस्ने ३० वर्षीय दिनेश गोङबालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.३२ प २५९८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।