बिरगंजको विभिन्न ठाउँमा रहेका गोदाममा सशस्त्र प्रहरीको छापा,४४ लाख बढिको अवैध सामान बरामद

बिरगंजको विभिन्न ठाउँमा रहेका गोदाममा सशस्त्र प्रहरीको छापा,४४ लाख बढिको अवैध सामान बरामद

काठमाडौं, जेठ ३०

सशस्त्र प्रहरी बलले पर्सास्थित बिरगंज महानगरपालिका–१९ बर्वा लगायत बिरगंजको विभन्न ठाउँबाट मंगलबार राती अवैध गोदाममा छापा मारेर ४४ लाख बढिको अवैध सामान नियन्त्रणमा लिएको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा फौजले बिरगंज भन्सार कार्यालयका कर्मचारी समेतको उपस्थितीमा अवैध रुपले राखिएको गोदाममा छापा मारेर सौदर्य क्रिम, मुङ दाल, मोटर पाटर््स तथा अन्य अवैध सामान बरामद गरेको हो ।

बरामद सामानमा १४ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको लेक्मी ब्राण्डको क्रिम १४ हजार ५ सय ९२ पिस, सोही ब्राण्डको ८ लाख ६ हजार ४ सय रुपैयाँ बराबरको १६ हजार १ सय २८ पिस क्रिम रहेको छ । यस्तै मानिस कोही नबस्ने सोही महानगरपालिकाको अर्को एक ठाउँबाट एक घरमा अवैध रुपले गोदाम गरी राखिएको ६ लाख रुपैयाँ बराबरको ३ हजार किलो दाल समेत बरामद भएको छ ।    

यसैगरी मंगलबार राती नै सोही गुल्मले बिरगंज महानगरपालिका–१० बाट अवैध रुपमा राखिएको ११ लाख रुपैयाँ बराबरको मोटर पाटर््स र १० लाख ७५ हजार मुल्य बराबरको किराना सामान समेत बरामद गरेको छ । बरामद सामान बुधबार बिहान आवश्यक अनुसन्धान तथा कारवाहीको लागि विरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ । यसैबिच पछिल्लो एक हप्ताको बिचमा सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटले करिब ३ करोड मूल्य बराबरको अबैध सामान बरामद गरी आवश्यक कारबाहिको लागि सम्बन्धित निकायमा बुझाएको छ ।