१० जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

१० जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौं, जेठ ३१

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले हालै पदोन्नति भएका १० जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन । नेपाल सरकार उपप्रधानमन्त्री एवम् गृहमन्त्रीस्तरको २०८१ जेठ २९ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा ४ जना तथा नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१जेठ २९ गतेको निर्णयले प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा ४ जना र नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ जेठ ३० गतेको निर्णयले प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा २ जना गरी जम्मा १० जना प्रहरी अधिकृतहरू पदोन्नति भएका थिए।   

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी अधिकृतहरूमा प्रहरी वरिष्ठ उपरीक्षकहरूश्याम कृष्ण अधिकारी, रबिन्द्र रेग्मी, भिम बहादुर दाहाल र नान्तीराज गुरूङ, प्रहरी उपरीक्षकहरूमा प्रदिप बहादुर क्षेत्री, नारायण रंजितकार, अनन्त राम शर्मा र एक नारायण कोईराला तथा प्राविधिक प्रहरी नायव उपरीक्षकहरूमा उमेश प्रसाद साह र ई. मुकेश तिवारी रहेका छन् । दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिले सुविधाको मात्र नभई प्रहरी अधिकृतहरूको विश्वाशस र जिम्मेवारी बढेको चर्चा गर्दै थपिएको दर्ज्यानी चिन्हको मर्यादा रहने गरी सांगठनिक हितमा कार्य गर्न निर्देशन दिए । संगठनलाई केन्द्रमा राखेर संगठनको वृहत्तर हितका लागि आग्रह पूर्वाग्रह भन्दा माथि उठेर गरिएको सम्पूर्ण प्रहरी कर्मचारीहरूको साझा प्रतिवद्धता सामूहिक साथ र सहयोगबाट नै सांगठनिक सुदृढिकरण र लक्ष्य प्राप्त हुने कुरामा विश्वास्त रहेको उनले उल्लेख गरे ।  

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले पदोन्नतिसँग प्राप्त जिम्मेवारी एवम् उत्तरदायित्वलाई उच्च व्यावसायिकता, नैतिकता र निष्ठापूर्वक सेवाभावकासाथ पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे । दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।