सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनशिप, सुरु पहिलो दिन दिनेश शीर्षस्थानमा, तोरण र एमेच्योर सुमन एक स्ट्रोकले पछि

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनशिप, सुरु पहिलो दिन दिनेश शीर्षस्थानमा, तोरण र एमेच्योर सुमन एक स्ट्रोकले पछि

काठमाडौं, असार ४

सूर्य नेपाल गल्फ टुर २०२३–२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनशिपको पहिलो दिन दिनेश प्रजापति ७–अन्डर ६५ को सानदार स्कोरमा शीर्षस्थानमा रहेका छन । उनले तोरण विक्रम शाही र एमेच्योर सुमन परियारलाई एक स्ट्रोकले पछि पारे। गोकर्ण गल्फ क्लबमा आज तोरण र सुमनले ६–अन्डर ६६ को स्कोरमा संयुक्तरुपमा दोस्रो स्थान बाँडे । डिफेन्डिङ च्याम्पियन सुबाश तामाङ, भुवन नगरकोटी र एमेच्योर सदभाव आचार्य ४–अन्डर ६८ सहित संयुक्तरुपमा चौथो स्थानमा रहे। ३–अन्डर ६९ को स्कोरमा एमेच्योर विजय श्रेष्ठ आइन्हाउस सातौं र अर्का एमेच्योर वाङचेन ढोन्डुप २–अन्डर ७० सहित वाङचेन ढोन्डुप आठौं स्थानमा छन । 

१–अन्डर ७१ स्कोर खडा गरेका रवि खड्का, निरज तामाङ, धन बहादुर थापा र सञ्जय लामा तथा एमेच्योर तेन्जिङ पाल्देनले संयुक्तरुपमा नवौं स्थान बाँडे । पहिलो दिन उत्कृष्ट स्कोर निकाल्ने क्रममा दिनेशले बोगी रहित ७–अन्डरको स्कोर दर्ज गरे। सात बर्डी प्रहार गरेका दिनेशले सुरूवात राम्रो गरे। दोस्रो, तेस्रो, चौथो र छैटौं होलको बर्डीले फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाए। यसपछि ब्याक नाइनमा पनि यही लयलाई निरन्तरता दिए । १३ औं, १४ औं र १७ औं होलमा पनि एक–एक सट बचाए। उनले ब्याक नाइन ३–अन्डर ३३ मा पुरा गरे ।  

तोरणले फ्रन्ट नाइन इभन–पार ३६ मा सकाए। दोस्रो होलमा एक सट खेर फाले भने तेस्रो होलमा बर्डी प्रहार गरे। यसपछि ब्याक नाइनमा उनले लोभलाग्दो प्रदर्शन गरे । १० औं, १३ औं, १५ औं र १७ औं होलमा बर्डी प्रहार गरे। ५–पारको पाँचौ होलमा इगलको सफलता हात पार्दै ब्याक नाइन ६–अन्डर ३० मा सकाए ।  
एमेच्योर सुमनले उत्कृष्ट सुरूवात गर्दै फ्रन्ट नाइन ५–अन्डर ३१ मा सकाए । उनले तेस्रो देखि छैटौं होलमा लगातार चार बोगी प्रहार गरे। आठौं होलमा पनि एक सट बचाए ।

यसपछि दशौं होलमा एक सट खेर फाले भने ११ औं र १३ औं होलको बर्डीले ब्याक नाइन १–अन्डर ३५ मा सकाए । पुरस्कार राशीको आधारमा सिजनकै ठुलो प्रतियोगितामा ३७ प्रोफेसनल र ११ एमेच्योर गल्फरले प्रतिस्पर्धा गरिरहेका छन । कुल १५ लाख ५० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले २ लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुनेले क्रमश १ लाख ७५ हजार र १ लाख २२ हजार प्राप्त गर्नेछन । यस्तै चौथो र पाँचौ हुनेलाई १ लाख २ हजार र ८० हजार प्रदान गरिने छ । दुई दिनको खेल पश्चात कट लागु हुनेछ ।

३६ होलको समाप्तीमा उत्कृष्ट २१ र टाइमा पर्ने खेलाडीहरूले मात्र अन्तिम दुई दिनको खेलका लागि स्थान बनाउनेछन। एमेच्योर गल्फरको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नु पर्नेछ । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीप अन्तर्गत प्रो–एम प्रतियोगिता शनिबार हुनेछ। जहाँ २५ प्रो र १०० एमेच्योर गल्फरको सहभागीता रहने छ ।