सूर्य नेपाल प्रिमियर गल्फको तेस्रो दिन सुवास शीर्षस्थानमा, भुवन र दिनेश एक स्ट्रोकले पछि

सूर्य नेपाल प्रिमियर गल्फको तेस्रो दिन सुवास शीर्षस्थानमा, भुवन र दिनेश एक स्ट्रोकले पछि

काठमाडौं, असार ६

डिफेन्डिङ च्याम्पियन सुबाश तामाङले ५–अन्डर ६७ को स्कोर दर्ज गर्दा समग्रमा १२–अन्डर २ सय ४ सहित सूर्य नेपाल गल्फ टुर २०२३–२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीपको तेस्रो दिन शीर्षस्थानमा उक्लन सफल भएका छन । सुबाशले दोस्रो दिनका संयुक्त लिडर भुवन नगरकोटी र दिनेश प्रजापतिलाई अन्तिम १८ होलको खेल बाँकी रहँदा एक स्ट्रोकले पछि पारे । यो सँगै उपाधि होड निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको छ ।

दिनेश र भुवनले समग्रमा ११–अन्डर २ सय ५ स्कोर गरे । उनीहरू दुवै आज १–अन्डर ७१ खेल्दै मा संयुक्तरुपमा दोस्रो स्थानमा झरे । एमेच्योर सदभाव आचार्य र धरानका प्रो निरज तामाङ समग्रमा ९–अन्डर २ सय ७ स्कोर सहित संयुक्तरुपमा चौथो स्थान बाँडे । दुवैले तेस्रो दिनको खेल २–अन्डर ७० मा पुरा गरे । बिहिबार १–अन्डर ७१ सहित समग्रमा ६–अन्डर २ सय १० को स्कोरमा तोरण विक्रम शाही छैटौं स्थानमा छन । एमेच्योर विजय श्रेष्ठ आइन्हाउस ५–अन्डर २ सय ११ को स्कोरमा सातौं, ४–अन्डर २ सय १२ सहित जयराम श्रेष्ठ आठौं र १–अन्डर २ सय १५ सहित एमेच्योर सुमन परियार नवौं स्थानमा रहे। विजय र जयरामले आज इभन–पार ७२ तथा सुमनले ३–ओभर ७५ को स्कोर कार्ड बनाए ।

समग्रमा इभन–पार २ सय १६ को स्कोरमा एमेच्योरद्वय राहुल विश्वकर्मा र तेन्जिङ पाल्देन तथा प्रो सञ्जय लामाले संयुक्तरुपमा दशौं स्थान बाँडे। राहुलले ३–अन्डर ६९, तेन्जिङले १–अन्डर ७१ र सञ्जयले ४–ओभर ७६ मा दिनको खेल सकाए । दोस्रो दिन संयुक्तरुपमा तेस्रो स्थानमा रहेका सुबाशले शीर्षस्थानमा उक्लने क्रममा फ्रन्ट नाइन २–अन्डर ३४ मा पुरा गरे । चौथो होलमा एक सट खेर फाले भने तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। यसपछि ५–पारको १२ औं होलमा इगलको सफलता प्राप्त गरे भने लगतै १३ औं होलमा एक सट बचाए । ब्याक नाइन ३–अन्डर ३३ मा सकाए । एमेच्योर गल्फर हुँदा पाँच प्रतियोगिता जितेका सुबाश प्रो बनेपछि पहिलो उपाधि जित्ने दाउमा रहेका छन ।

दिनेशले फ्रन्ट नाइन ३–अन्डर ३३ मा सकाउने क्रममा पहिलो, तेस्रो र सातौं होलमा बर्डी प्रहार गरे ।  यसपछि ११ औं होलमा पनि एक सट बचाए । तर १२ औं होलको डबल बोगी र १५ औं होलको बोगीले ब्याक नाइन २–ओभर ३८ मा सकाउन बाध्य भए । भुवनले पनि दिनेशले जस्तै फ्रन्ट नाइन ३–अन्डर ३३ मा र ब्याक नाइन २–ओभर ३८ मा पुरा गरे। सुरूवात राम्रो गर्ने क्रममा दोस्रो, तेस्रो, पाँचौ र सातौं होलमा चार बर्डी प्रहार गरे । आठौं होलमा एक सट खेर फाले । यसपछि १४ औं होलमा बिर्सनलायक प्रदर्शन गरे । भुवनले ४–पारको उक्त होलमा दुई पटक आउट अफ बाउन्ड्स (ओबी) प्रहार गर्दा चार सट खेर फाले। तर १७ औं र १८ औं होलको बर्डीले उनलाई केहि राहत मिल्यो । 

एमेच्योर सदभावले फ्रन्ट नाइन र ब्याक नाइन दुवै १–अन्डर ३५ मा सकाए । उनले तेस्रो, चौथो र ११औं होलमा बर्डी प्रहार गर्दा छैटौं होलमा बोगी खेपे । निरजले दोस्रो र आठौं होलको बर्डीले फ्रन्ट नाइन २–अन्डर ३४ मा सकाए । यसपछि ११ औं होलको बोगी विरूद्ध १२ औ होलको बर्डीले ब्याक नाइन इभन–पार ३६ मा सकाए । 

सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत सिजनको सबै भन्दा ठुलो प्रतियोगितामा कुल १५ लाख ५० हजार नगद पुरस्कार राशी रहेको छ। प्रतियोगिताको विजेताले २ लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन । दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख ७५ हजार र १ लाख २२ हजार प्राप्त गर्नेछन । यस्तै चौथो र पाँचौ हुनेलाई १ लाख २ हजार र ८० हजार प्रदान गरिनेछ। सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीपको प्रो–एम प्रतियोगिता शनिबार हुनेछ। जहाँ २५ प्रो र १०० एमेच्योर गल्फरको सहभागीता रहनेछ ।