युकेका सिनेमा हलमा रिलिज भयो ’पुजार सार्की’

युकेका सिनेमा हलमा रिलिज भयो ’पुजार सार्की’

काठमाडौं, असार ७

गत जेठ १० गते नेपालमा रिलिज भई सफलताका साथ पाँचौँ हप्तामा प्रदर्शन भइरहेको नेपाली चलचित्र ’पुजार सार्की’ संयुक्त अधिराज्य (युके)मा रिलिज भएको छ । जुन २१ शुक्रवार रिलिज भएको यो चलचित्र युकेका ओडियन सिनेमाज तथा सिनेवर्ल्डमा रिलिज भएको हो । 

युकेका सहरहरू बेसिङस्टोक, बर्मिङ्घम न्यू स्ट्रिट, गिल्डफोर्ड, लिसेस्टर, म्यानचेस्टर ग्रेट नर्दन, एल्डरशट, इलफोर्ड, फेल्दम लगायतका ओडियन र सिनेवर्ल्ड हलमा दैनिक रूपमा ’पुजार सार्की’ हेर्न सकिन्छ । यसरी बक्स अफिसमा नै संसारभरका चलचित्रहरू सँगै युकेमा नेपाली चलचित्र रिलिज कमै हुने गरेका छन् । चलचित्रका निर्माता सुबास भुसालले युकेमा नेपाली चलचित्रको लागि ’पुजार सार्की’को रिलिज ऐतिहासिक रहेको बताए। उनले भने, “हामीले अहिले नेपालसँगै संसारभरका नेपालीहरू रहेका सहरहरूमा ’पुजार सार्की’ विभिन्न तवरबाट प्रदर्शन गरिरहेका छौँ ।

युकेमा समेत बक्स अफिसमा रिलिज भएको छ, यो नेपाली चलचित्रको लागि ऐतिहासिक हो ।“ त्यस्तै, संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यहरूमा पनि यो चलचित्र बक्स अफिसमा नै रिलिज भइरहेको छ भने अन्य मुलुकहरूमा पनि चलचित्र प्रदर्शन भइरहेको छ । यो चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार एमएसएम इन्टरटेन्मेन्टले लिएको छ ।

दिनेश राउतले निर्देशन गरेको यस चलचित्रमा विकास सुवेदीको लेखन रहेको छ भने आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको अभिनय रहेको छ ।