दोश्रो महिला हाफ म्याराथनको उपाधी राजपुरा पछाईलाई

दोश्रो महिला हाफ म्याराथनको उपाधी राजपुरा पछाईलाई

काठमाडौं, असार ८

सशस्त्र प्रहरी परिवार महिला संघको २३औं वार्षिकोत्सवको अवसरमा असार ८ गते आयोजना गरेको ‘दोश्रो महिला हाफ म्याराथन प्रतियोगिता २०८१’ को उपाधी नेपाल पुलिस क्लवकी राजपुरा पछाईले हात पारेकी छन्। उनले निर्धारित २१.०९८  किमीको दुरी १ घण्टा १९ मिनेटमा पुरा गरी प्रथम भएकी हुन् ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उद्घाटन गर्नुभएको प्रतियोगितामा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रिय अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, महिला संघका पदाधिकारीहरु, लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो  ।  

शनिबार बिहान ६ः०० बजे सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट शुरु भई बालाजु चोक, नयाँ बसपार्क, बसुन्धारा, महाराजगंज चोकलाई दायाँ पार्दै त्रि.वि. शिक्षण अस्पताल, लैनचौर, जमल, घण्टाघर, शहिद गेट, त्रिपुरेश्वर, टेकु, कालिमाटी, रविभवन, कलंकी हुँदै पुनः प्रधान कार्यालयस्थित एपीएफ रंगशाला एक राउण्ड लगाएर समापन भएको थियो ।

प्रतियोगितामा प्रथम हुने नेपाल पुलिस क्लवकी राजपुरा पछाईले १ लाख रुपैयाँ, दोश्रो हुने नेपाल पुलिस क्लवकी राममाया बुढाले १ घण्टा २३ मिनेट १० सेकेण्डमा निर्धारित दुरी पार गरी ७५ हजार रुपैयाँ तथा तेस्रो हुने नेपाल एपीएफ क्लवकी पुष्पा भण्डारीले १ घण्टा २५ मिनेट ४५ सेकेण्डमा पार गरी ५० हजार रुपैयाँ जितेकी छन् ।

उपाधी हासिल गर्ने धावकहरुलाई यही असार १७ गते सोमबार वार्षिकोत्सवमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने कार्यक्रम रहेको छ भने चौथौं देखि दशौं स्थान हासिल गरेका धावकहरुलाई आजै पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितमा त्रिभुवन आर्मी क्लव, नेपाल पुलीस क्लव, नेपाल एपीएफ क्लव लगायत सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरु तथा देशैभरका महिला धावकहरुको सहभागिता रहेको थियो ।

त्यसैगरी आजै सम्पन्न ‘प्रथम महिला हाफ म्याराथन प्रतियोगिता २०८१’ मा दिपा परियार प्रथम, लिला राई दोश्रो र रिना माझी तेस्रो भएका छन् । उनीहरुलाई सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले पुरस्कार, मेडल र प्रमाणत्र प्रदान गर्नुभएको थियो ।