’बलिदान’ को लागि साउथका द्वन्द्व निर्देशक र छायाकार ल्याइयो, प्राविधिक सामग्री पनि भारतबाटै आउने

’बलिदान’ को लागि साउथका द्वन्द्व निर्देशक र छायाकार ल्याइयो, प्राविधिक सामग्री पनि भारतबाटै आउने

काठमाडौं, असार १०

गलत व्यक्तिहरूबाट भइरहेको नेपालको सार्वभौम माटोको शोषण र थिचोमिचोमा आधारित कथा र निरंकुश एवम् समाजका तथाकथित नाइकेहरूको बलि दिनुपर्ने सारांशमा आधारित नेपाली चलचित्र ’बलिदान’ छायाङ्कनको लागि तयार भएको छ । यसका निर्देशक सन्तोष सेनले यस चलचित्रको कथालाई ’महाकथा’ भन्दै यसको लागि आफूले जस्तोसुकै त्याग र बलिदान गर्न तयार रहेको बताउँछन् । उनी महिनौँ देखि कहिले छायाङ्कन स्थलको निर्माण, सेट डिजाइन तथा अन्य व्यवस्थापनका लागि पूर्वी नेपालको विराटनगर र इटहरी क्षेत्रमा त कहिले दक्षिण भारतमा त्यहाँको चलचित्र उद्योगका प्राविधिकहरूसँग छलफलमा डटिरहेका छन्। नेपालमा यस किसिमको चलचित्र उत्पादन ऐतिहासिक र युगान्तकारी साबित बनाउन निर्माण टिम ठुलो मेहनत र लगानी खर्चेर प्रि–प्रोडक्सन रहेको छ ।

सन्तोषको मेगा प्रोजेक्टको रूपमा रहेको ’बलिदान’ का लागि दक्षिण भारतका सयौँ करोडका प्रख्यात चलचित्रहरू बनाइसकेका चर्चित  द्वन्द्व निर्देशक, छायाकार तथा अन्य प्राविधिकको टोली निर्माण पक्षले महँगो पारिश्रमिकमा नेपाल भित्र्याएको छ । जसमा, द्वन्द्व निर्देशक स्टन्डर साम र छायाकार शरण ऋषि सहित करिब ५० जनाको प्राविधिक टिमले ’बलिदान’ मा काम गर्नेछन् । 

द्वन्द्व निर्देशक सामले राणा दगुबत्तीको चर्चित चलचित्र ’हात्ती मेरे साथी’, चियान विक्रमको चलचित्र ’थङ्गलम’ लगायतमा काम गरिसकेका छन् । छायाकार ऋषि गत हप्ता रिलिज भएको नेपाली चलचित्र ’बाटोः रोड टु डेथ’का छायाकार हुन् । हाल नेपालमा उनको छायाङ्कनको खुलेरै तारिफ भइरहेको छ । त्यस्तै, उनले दक्षिण भारतमा चर्चित चलचित्रहरू सुपरस्टार रजीनिकान्थको चलचित्र ’पेट्टा’ र सुपरस्टार चिरञ्जीवीको चलचित्र ’आचार्य’ को छायाङ्कन टिममा रहेर काम गरेका छन् । 

यसका साथै छायाङ्कनमा प्रयोग गरिने लाइट, साउन्ड, क्यामेरा लगायतका प्राविधिक सामग्रीहरू भारतको मुम्बईबाट ल्याउने निर्देशक सेनले बताए । उनले भने, “हामीले बलिदानलाई उच्चस्तरीय नेपाली चलचित्र बनाउन कुनै पनि कसर बाँकी नराख्ने प्रण गरेका छौँ । यसको लागि हामीले दक्षिण भारतबाट प्राविधिक र मुम्बईबाट इक्विपमेन्टहरू ल्याएर काम गर्दैछौँ । यो एक सामान्य चलचित्र मात्र नभएर नेपाली चलचित्र उद्योगका लागि एक ऐतिहासिक, क्रान्तिकारी र महान् चलचित्रको ढोका खोल्ने कोशेढुङ्गाका रूपमा साबित गराउनेछौँ ।’

बलिदानको छायाङ्कनको लागि इटहरीमा रहेको बिएमसी छायाङ्कन स्टुडियोमा भव्य सेट तयार भइरहेको छ । साथै, विराटनगर क्षेत्रमा पनि सेट निर्माणको काम लगभग अन्तिम चरणमा रहेको सह निर्माता प्रेम पुरीले बताए । यसको करिब ६० प्रतिशत स्टुडियोमा नै छायाङ्कन हुँदैछ । ’बलिदान’ को प्रमुख भूमिकामा नेपाली चलचित्रका एक्सन अभिनेता बिराज भट्टका छोरा समीर भट्टले अभिनय गर्दैछन् । एक ’प्याकेज हिरो’ को सम्भावना बोकेका भट्टले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू गरिरहेका थिए। यस चलचित्रमा अभिनेता त्रय सौगात मल्ल, अर्पण थापा, दिव्य देव तथा अभिनेत्री ऋचा शर्माको पनि प्रमुख अभिनय रहनेछ ।

आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस चलचित्रमा निर्माताकोरूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन् ।