कुपोषित बालबालिकालाई पोषणयुक्त आहार वितरण

कुपोषित बालबालिकालाई पोषणयुक्त आहार वितरण

मान्म (कालिकोट), १० असार :

जिल्लाको नरहरीनाथ गाउँपालिकाका ४६ जना कुपोषित बालबालिकालाई पोषणयुक्त आहार वितरण गरिएको छ । गाउँपालिकाको वडा नं १ देखि ४ सम्मका चारवटा वडामा कुपोषण देखिएका ती बालबालिकालाई पोषणयुक्त आहार वितरण गरिएको हो । नरहरीनाथ गापाको छ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकाको कुपोषण अवस्था जाँच गर्दा ती बालबालिकामा कुपोषण देखिएको थियो । उनीहरुलाई पोषणयुक्त आहार वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

कुपोषण पहिचान शिविरमा देखा परेका उनीहरुका लागि पोषणयुक्त खाद्यवस्तु अण्डा, लिटो बनाउने चामल, पाँच केजी मासु, मुसुराको दाल, चना केराउलगायतका आहार वितरण गरिएको नरहरिनाथ गाउँपालिकाले जनाएको छ । नरहरीनाथ गाउँपालिकाको चारवटा वडाका पाँच सय ३८ बालबालिकाको कुपोषण जाँच गरिएको थियो । त्यसमध्ये ४१ जनामा मध्यम खालको कुपोषण र छ जनामा कडा खालको कुपोषण देखा परेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मनोज बोगटीले जानकारी दिनुभयो ।

“अस्पतालमा आएर जाँच गरि कुपोषण देखा परेका बालबालिकाको अभिभावक फेरि बच्चा लिएर नियमित अस्पताल आउन मान्दैनन्”, उहाँले भन्नुभयो, “स्याहार सुसार र आहार नपाएरै कुपोषण देखा पर्ने गरेको छ । ग्रामीण भेगमा बालबालिकालाई छाडेर मेलापात, घाँस दाउरा वनपाखा गर्नुपर्ने हुन्छ । उनीहरुको रेखदेख र स्याहार नहुँदा कुपोषण लाग्ने गरेको पाइएको छ ।

” कुपोषण भेटिएका वडामा खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी पाँच वर्ष मुनिका बालबालिकाका बाबुआमालाई कक्षा सञ्चालन गरिएको छ । गाउँपालिकाकाले पोषणमैत्री अभियान सञ्चालन गरी कुषोषणमा कमी ल्याउने काम गरिरहेको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले बताउनुभयो । “कुषोषण न्यूनीकरण गर्न गाउँसभाले बजेट व्यवस्थापनको तयारी गरेको छ”, उहाँले भन्नुभयो, “पोषणमैत्री पालिका निर्माणका लागि गाउँपालिकाले अन्य सङ्घ संस्थासँग समन्वय र सहकार्य गर्न तयार छ ।”