अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

काठमाडौं, असार १२

काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित सारङ्गी छहारी गेष्टहाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ ७ ग्राम, ल्यापटप १ थान, मोबाइल ५ थान, ५६ हजार नेपाली रूपैयाँ, २ हजार ५ सय भारतीय रूपैयाँसहित ईलाम चुलाचुली गाउँपालिका–३ घर भएका २४ वर्षीय राज राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनले लागूऔषध विक्री गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं महानगरपालिका–८ तिलगंगा बस्ने झापा गौरादह नगरपालिका–७ घर भएकी ३२ बर्षीया सम्झना कुमारी बजगाईलाई नियन्रिं त लागूऔषध ट्रामाडोल ४ पत्ता, गाँजा २ सय २० ग्राम र नगद ५१ हजार २ सय ५० रूपैयाँसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट पशुपती र प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनको डेरा कोठा तलासी उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । 

बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ शर्मा गल्ली नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्रामसहित कोहलपुर नगरपालिका–८ गोल्छा बस्ने १९ वर्षीय  भुवन थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै  गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी बाँकेको नेपालगंज उपमहानगरपालिका–१२ मुक्तिपुर बस्ने बर्दिया गेडुवा गाउँपालिका–३ घर भएका ३० वर्षीय रवी थापालाई अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ ३० मिलिग्रामसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–८ शुभबिहानी टोलबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १३ किलोसहित रूकुमपश्चिम आठ्बिस नगरपालिका–३ बस्ने ४० वर्षीय टेक बहादुर बोहरासमेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले सोही ठाउँ डेरा गरी बस्ने रूकुम पश्चिम आठ्बिस नगरपालिका–३ घर भएकी ३३ वर्षीया लक्ष्मी बोहराको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । हाल फरार लक्ष्मीको प्रहरीले खोजी गरिरहेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका–११ भिमबस्तीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका–३ बोराडाडी बस्ने १९ वर्षीय आशिष बहादुर धानुक र सोही उपमहानगरपालिका–२ मिलनचोक बस्ने १९  वर्षीय छत्र बहादुर सिंह रहेका छन् । इलाका प्रहरी कार्यालय त्रिभूवनबस्तीबाट खटिएको प्रहरीले बेलौरीबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र.०१–०१० प ६४७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

कैलालीको गोदावरी नगरपालिका–२ तेघरीस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्रामसहित सोही नगरपालिका–२ बस्ने २४ वर्षीय अमित शोवलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।