नेपाल लाइफको २३ औँ र २४ औँ वार्षिक साधारण सभा सम्पन्न

नेपाल लाइफको २३ औँ र २४ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, असार २०

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ र २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।सञ्चालक समितिका अध्यक्ष गोबिन्द लाल संघईको अध्यक्षतामा यही असार १८ मंगलबार होटल भिष्वा, बीरगंज, पर्सामा बार्षिक साधारण सभा सम्पन्न गरेको कम्पनीले जानकारी दिएको छ । सो अवसरमा संचालक समितिका तर्फबाट अध्यक्षबाट प्रस्तुत भएका आ.व.२०७८-७९ र आ.व. २०७९-८० को वार्षिक कार्य प्रगति प्रतिवेदनहरु छलफल गरि पारित गरिएको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७८-७९ र आ.व.२०७९-८० को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरिएको छ ।

त्यसै गरी आ.व.२०७९-८० को लागि लेखापरीक्षक एस.ए.आर. एशोसिएट्सलाई गरिएको नियुक्ति र निजको पारिश्रमिकलाई अनुमोदन गरिएको छ । सभाले आ.व. २०८०-८१ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ । सभाले आ.व. २०७९-८० को वितरण योग्य मुनाफाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिमहाल कायम रहेको चुक्ता पूँजीको २१ दशमलव शुन्य पाँच प्रतिशत (कर प्रयोजनसहित) का दरले हुन आउने एक अर्ब ७२ करोड ७९ लाख ९२ हजार नौं सय ४९ रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । यसका साथसाथै सभाले संचालक समितिमा संस्थापक समूह (क) का शेयरधनीहरुबाट तीन जना संचालक, सर्वसाधारण समूह (ख) का शेयरधनीहरुको तर्फबाट ३ जना संचालक तथा एक जना स्वतन्त्र संचालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावलीमा संशोधन प्रस्ताव पारित गरिएको छ ।

अध्यक्ष गोबिन्द लाल संघईले जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरु बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरि अर्को सुनौलो यात्रा तर्फ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । कम्पनीले आफ्नो व्यापार र सेवामा अन्तर्राष्ट्रिय व्यावसायिक मापदण्डलाई अवलम्बन गरिरहेको कुरा बताउनु भयो । कम्पनीको निरन्तर विकासको लागि दीर्घकालिन रणनीति निर्माण गर्न, अध्ययन व्यवस्थापन प्रणाली (लर्निङ म्यानेजमेन्ट सिस्टम) प्रभावकारी बनाउन, ग्राहकलाई थप स्तरिय सेवाको अनुभूति गराउन, अटोमेशनको प्रयोगबाट समयको बचत र लागत घटाउन भविष्यमा कम्पनीलाई डिजिटल रुपमा रुपान्तरण गर्न कार्य आरम्भ गरिसकिएको कुरा बताए ।

साथै, कम्पनीले जोखिम व्यवस्थापन कार्ययोजना तयार गरी व्यवसायसँग सम्बन्धित जोखिमहरुको समेत उचित व्यवस्थापन गरिरहेको जानकारी गराए । संचालक समितिका अध्यक्ष संघईले साधारण सभामा शेयरधनीहरुले राखेको सुझावहरुलाई सकरात्मक रूपमा लिईने जानकारी गराउँर्दै कम्पनीको विकासमा योगदान पुर्‍याउने सबैमा धन्यवाद ज्ञापन गरे ।
कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले शेयरधनीहरुबाट प्रस्तुत भएका जिज्ञासा तथा सुझावहरुको सन्दर्भमा संचालक समितिको धारणा प्रस्तुत गर्दै शेयरधनीहरुको सकारात्मक सुझावहरुलाई कम्पनीको विकासको निम्ति अवलम्बन गर्न सदैव तयार रहेको बताए । २३ औँ र २४ औँ बार्षिक साधारण सभामा बोल्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आ.व. २०७८-७९ र आ.व.२०७९-८० मा आएका चुनौतीहरुलाई अवसरहरुमा परिणत गरी हासिल गरिएका व्यावसायिक उपलब्धि र भावी योजनाहरु बताए । । देशको अर्थतन्त्र साथै व्यावसायिक क्षेत्र संकटान्मुख अवस्थामा रहेको परिस्थितिमा पनि यस कम्पनीले कुल बीमाशुल्क आर्जनका आधारमा आ.व २०७८-७९ मा नेपालको समग्र जीवन बीमा बजारको २५ दशमलव ५९ प्रतिशत र आ.व. २०७९-८० मा २६ दशमलव शुन्य छ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको जानकारी गराए ।

चुनौतीपूर्ण बजार परिस्थितिमा पनि कर्मचारी, अभिकर्ता एवं सरोकारवालाहरुको साथ सहयोगले एक भरपर्दो, विश्वसनीय र उत्कृष्ट कम्पनीको रुपमा स्थापित भई निरन्तर उच्चतम् सञ्चालन आम्दानी तथा प्रतिफल दिन सफल भएको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण पराजुलीले बताए । २०८१ जेठ मसान्त सम्ममा कम्पनीको लगानी दुई खर्ब ५४ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष एक खर्ब ८९ अर्ब १८ करोड रुपैयाँ र शेयरधनी कोष ११ अर्ब ६६ करोडभन्दा बढी रहेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल एक सय ९३ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

यसका साथसाथै कम्पनीले हालसम्म दुई खर्ब ५९ अर्ब ८३ करोड रुपैया बीमा शुल्क आर्जन गरेको छ भने ७८ अर्ब ७६ करोड रुपैंयाँ दावी भुक्तानी गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २४ वटा बीमा योजना अन्तर्गत ३५ लाख ५२ हजार चार सय १४ बीमालेख जारी गरेको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।